पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति जेन्जी अभियन्ता सोडारीको आपत्ति


काठमाडौं । जनआस्था मिडियाका सम्पादक किशोर श्रेष्ठलाई घरबाटै गिरफ्तार गरिएको घटनाप्रति जेन्जी अभियन्ता अजय सोडारीले आपत्ति जनाएका छन् ।


सोडारीले पत्रकार श्रेष्ठको गिरफ्तारीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्दै उनलाई तत्काल रिहा गर्न माग गरेका छन् ।


उनले सार्वजनिक पदमा रहेका व्यक्तिको आचरण, नैतिकता र कार्यशैलीमाथि प्रश्न उठाउनु पत्रकारिता र नागरिकको अधिकार भएको बताएका छन् । सत्य, तथ्य र खोजमूलक पत्रकारितामार्फत सार्वजनिक चासोका विषय उजागर गर्नु सञ्चारजगतको दायित्व भएको उनको भनाइ छ ।


कुनै सामग्रीप्रति आपत्ति भए प्रचलित कानुन र न्यायोचित प्रक्रियाबाट निरूपण गर्नुपर्नेमा गिरफ्तारीको त्रास देखाउनु उचित नभएको सोडारीले बताएका छन् । उनले प्रहरीको साइबर ब्युरोले जाहेरीका आधारमा छिटो गिरफ्तारी गरेको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाएका छन् ।


सोडारीले प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारलाई निर्भीक रूपमा लेख्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । दुईतिहाइ जनमत विधि र कानुनको शासन कायम गर्नका लागि भएको उल्लेख गर्दै उनले आलोचनात्मक आवाज दबाउन त्यसको प्रयोग गर्न नहुने बताएका छन् ।


उनले कानुन सबैलाई समान न्याय दिने आधार हुनुपर्ने भन्दै पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न जोडदार माग गरेका छन् ।

Skip This