Logo

इन्काउन्टरमाथि शंका : भारतकाे गोवामा पक्राउ नेपालमा गोली !



काठमाडौं १० फागुन ।
नेताको आशीर्वाद : गुन्डालाई अभिशाप
शक्तिको आडमा धन्दा चम्काउने उद्देश्यले नेतासँग नजिकिएका गुन्डाको शृंखलाबद्ध अवसान

एमाले नेता गौतम गृहमन्त्री भएकै वेला चरीको ‘इन्काउन्टर’
चरी उपनामले कुख्याती कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार क्षेत्र बनाएर अपराधमा संलग्न थिए । थप उचाइ चढ्न एमाले प्रवेश गरेका उनी धादिङ–१ क्षेत्रीय कमिटीको उपाध्यक्षसमेत बने । राजनीतिक संरक्षणमा शक्ति बढेपछि उनले आफ्ना प्रतिस्पर्धीलाई दिउँसै गोली हान्न पनि थाले । कांग्रेस ललितपुरका नेतासमेत रहेका मीनकृष्ण महर्जनलाई गोली हानेको पुष्टि भए पनि उनी पक्राउ परेनन् । शक्ति बढेको आत्मविश्वासमा चरीले पार्टीकै नेताहरूलाई समेत धम्क्याउन थालेका थिए । पछि एमालेकै नेता वामदेव गौतम गृहमन्त्री रहेका वेला २१ साउन ०७१ मा प्रहरीले उनलाई ‘इन्काउन्टर’मा मार्‍यो । प्रहरीका अनुसार मोटरसाइकल चढेर धादिङतर्फ जाँदै गरेको अवस्थामा भीमढुंगामा उनीसँग मुठभेड भएको थियो ।

राजनीतिक संरक्षणले घैँटेको व्यवसाय जोगियो, ज्यान जोगिएन
काठमाडौं नयाँ बजारका स्थानीय कुमार घैँटे कांग्रेसी नेताहरूको छत्रछायामा हुर्किएका डन थिए । निर्माण व्यवसायीका अनुसार कांग्रेसका जगदीश्वरनरसिंह केसीको परिवार र कुमार घैँटे व्यावसायिक साझेदार नै थिए । घैँटे तरुण दलमा प्रवेश गरेर समाजसेवी पनि बनेका थिए । तर, उनले अपराध कर्म छाडेनन् । राजनीतिक आवरणमा उनले अपराध गतिविधि अझ मजबुत तुल्याए । अन्ततः घैँटे सामाखुसीस्थित निवासमै भएको प्रहरी इन्काउन्टरमा ३ भदौ ०७३ मा मारिए । प्रहरीका अनुसार सर्चमा गएको टोलीलाई उनले फायर खोलेका थिए । फेक इन्काउन्टर भएको भन्दै जगदीश्वरनरसिंह केसीले शिक्षण अस्पताल र संसद्मा समेत उत्तेजक भाषण गरेका थिए । तर, घैँटेलाई बचाउन ढिलो भइसकेको थियो । यसरी, राजनीतिक संरक्षणको विश्वासमा अपराध बढाउनु घैँटेका लागि आत्मघाती साबित भयो ।

मनोज पुनको यात्रा : माओवादी हुँदै एमाले, सम्बन्ध बिग्रिएपछि समापन

रुपन्देही देवदह–६ का हुन् मनोज बुढामगर । बालुवाको कारोबार गर्ने क्रममा उनी माओवादीको भ्रातृ संस्था वाइसिएलसँग नजिकिए । व्यवसाय अझ बढाउन एमाले प्रवेश गरेका उनी एमालेसम्बद्ध युवा संघ रुपन्देहीको कोषाध्यक्षसमेत बने । एमाले नेता विष्णु पौडेलको नाम लिएर उनले अपराध कर्म अझ बढाए । युवा संघ रुपन्देहीले कारबाही गरेपछि प्रतिशोध साँध्न ४ पुस ०७३ मा गोली हानी आफ्नै पूर्वअध्यक्ष दुर्गा तिवारीको हत्या गरे । तर, प्रहरीको पहुँचबाट टाढा भारतमा बसेर गिरोह चलाउन थालेका उनले २३ असोज ०७४ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गराए । यसबाट पनि सुरक्षित उनले लगत्तै २१ पुस ०७४ मा बुटवल देवदहकै फर्निचर व्यवसायी बलु भनिने वसन्त पौडेलकोे हत्या गरे । अन्तर्राष्ट्रिय डन बन्ने महŒवाकांक्षामा अन्धाधुन्ध अघि बढेका उनी बुधबार प्रहरी इन्काउन्टरमा मारिएका छन् । साथमा उनका सहयोगी सोम आलेको पनि ज्यान गएको छ ।

जेलमै ग्याङफाइटमा मारिए अर्का डन
चितवन कारागारमा एमालेनिकट चमेरे ग्याङसँग झडप हुँदा कांग्रेसनिकट कमिला ग्याङका शिवराज पौडेल मारिए । राजनीति र अपराधमा सँगसँगै हुर्किएका पौडेल नेपाल तरुण दलका तत्कालीन जिल्ला अध्यक्षसमेत थिए । मुख्य धन्दा ठेक्कापट्टाको थियो, तर चितवन केराबारीमा मारिएका सञ्जय लामाको हत्या अभियोगमा जेलमा थिए । तर, अदालती पैmसला हुनुअघि नै २ पुस ०६८ मा उनी मारिए । उनको हत्याको विरोधमा कांग्रेस कार्यकर्ता सडकमा उत्रिए । नेपाल बन्दसमेत भयो । अन्ततः उनलाई कांग्रेसको बैठकले सहिद घोषणा नै गर्‍यो ।

बिहानै ३ बजे इन्काउन्टर : मनोजलाई १२ गोली, सोमलाई १०
शृंखलाबद्ध हत्या र फिरौतीको अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डानाइके मनोज पुन इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदहमा बुधबार बिहान ३ बजे भएको इन्काउन्टरमा मनोजका मुख्य सहयोगी सोमबहादुर आलेको पनि ज्यान गएको छ ।

प्रहरीमाथि फायर भएपछि जवाफी कारबाहीमा मारिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) श्याम ज्ञवालीको भनाइ छ । मनोजलाई १२ र सोमलाई १० गोली लागेको थियो । देवदह नगरपालिका–४ भवानीपुरमा बुधबार बिहान ३ बजे भएको इन्काउन्टरमा घाइते पुन र आलेको उपचारका क्रममा साढे ५ बजे बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल, एउटा
मोटरसाइकल, ल्यापटप र केही डायरी पनि बरामद गरेको छ । मनोजले सुनीलकुमार मगरका नाममा नवलपरासीबाट पासपोर्ट (राहदानी) बनाएको र एटिएममा पनि अर्कै नाम राखेको पाइएको एसपी ज्ञवालीले बताए । भेटिएका प्रमाणमाथि अध्ययन गरेपछि थप तथ्य खुल्ने उनले बताए ।

इन्काउन्टरमाथि शंका
मनोजले हानेको गोली मोटरसाइकलमा, प्रहरीले हानेको गोली छातीमा
पूर्वएआइजी राजेन्द्रबहादुर सिंह भन्छन्, ‘एकपछि अर्को इन्काउन्टरमा शंकै छ ।’

गोवामा पक्राउ नेपालमा गोली !
भारतको गोवामा केही दिनअघि नै पक्राउ गरेर ल्याइएको र बुधबार बिहान गोली हानिएको चर्चा छ । तर, रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली भन्छन्, ‘खोज्दै जाँदा देवदहको मुख्य सडकमा जम्काभेट भयो, उनीहरूले फायरिङ गरे ।’
नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्