Logo

एन्फाको चुनाव बुझ्न एएफसीको टोली काठमाडौं आउने



काठमाडौं, १२ चैत  । अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव स्थगित भएकोबारे बुझ्न एसियाली फुटबल महासंघ एएफसीको टोली आज काठमाडौं आउँदैछ ।

एएफसीको एसोसिएट राष्ट्रहरुका निर्देशक रवी कुमारसहितको टोली काठमाडौं आउन लागेको एन्फाले पुष्टी गरेको छ । टोलीले एन्फाको निर्वाचन प्रक्रियालाई लिएर उत्पन्न पछिल्ला विवादबारे अध्ययन गरेपछि निर्वाचन गराउने वा अन्य बिकल्पमा जाने भन्नेबारे निर्णय हुने एन्फा स्रोतको दावी छ ।

यसअघि एन्फाले हिजो मात्रै निर्र्वाचन स्थगित भएको घोषणा गरेको थियो । निर्वाचन समितिले चुनावको २ दिन अगाडि सूचना टाँसेर एन्फाको चुनाव स्थगित भएको जनाएको हो ।

गत बिहीबार ललितपुर उच्च अदालतले एन्फा चुनाव तत्कालका लागि रोक्न दिएको आदेशको सम्मान गर्दै अर्को सूचना नभएसम्मका लागि चुनाव स्थगित भएको एन्फाले जनाएको छ ।

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा चैत १४ लाई तय भएको एन्फाको निर्वाचन तत्काल रोक्न उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले आदेश दिएको थियो ।

चुनावमा सहभागी हुने अधिकार छिन्न खोजेको भन्दै हालेको रिटमा न्यायाधीश वनको इजलासले अन्तरिम आदेश दिएको हो । अदालतले चुनाव रोक्न भनेपनि अन्तर्राष्ट्रिय फुटबल महासंघले भने तोकिएको मितिमा चुनाव होस भन्ने चाहेको थियो ।

एन्फा चुनावमा हालका वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदैछ । कुँवरलाई एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र पूर्व अध्यक्ष गणेश थापाको समर्थन छ । शेर्पाको पक्षमा ३ उपाध्यक्षसहित पूर्व सीईओ इन्द्रमान तुलाधर उभिएका छन् ।



प्रतिक्रिया दिनुहोस्