भक्तपुर, ८ वैशाख : नेकपा (एमाले)का केन्द्रीय सदस्य डा राजन भट्टराईले सरकारले जनताले महसुस गर्ने गरी देश विकासलाई अगाडि बढाउने बताउनुभएको छ ।
आज नेकपा (एमाले) मध्यपुर नगर कमिटीले थिमिमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले सरकारको देश विकासको अभियानलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको हो ।
देशमा संक्रमणकाल करीब सकियो भन्दै उहाँले अब स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारले देशको आर्थिक उन्नति र विकासमा लाग्दै पाँच वर्षभित्र जनताले प्रत्यक्ष देख्ने र महसुस गर्नेगरी देश विकास हुने दाबी गर्नुभयो ।
सरकारले भारत र चीनसँगको छिमेकी मित्रता एवं कूटनीतिलाई उच्च रुपमा सफल बनाउँदै दुवै देशको सहयोगमा नेपालको विकासमा फड्को मार्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा ३ नं प्रदेशका प्रदेश सदस्य राजेन्द्रमान श्रेष्ठले ३ नं प्रदेशको विकासलाई पर्यटनसँग जोडेर अगाडि लैजाने बताउनुभयो ।
नेकपा (एमाले) भक्तपुरका कावा अध्यक्ष बचन देउजाले विभिन्न पार्टीबाट एमाले प्रवेश गर्ने नवप्रवेशीलाई उचित जिम्मेवारी दिन नसक्दा समस्या आएको बताउँदै सबैलाई जिम्मेवारी दिन सके पार्टी अझ बलियो भएर जाने चर्चा गर्नुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले थिमिको विकास आफ्नो एकमात्र उद्देश्य रहेको चर्चा गर्दै हरेक क्षेत्रबाट विकास गर्दै मध्यपुरथिमिलाई विकासको नमूना नगरपालिका बनाउने बताउनुभयो । (रासस)




प्रतिक्रिया