काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको पहिलो चरण आगामी कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।
यसअघि हरेक वर्ष पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको थियो। तर, यस वर्ष उक्त समयमा बडादसैँको सार्वजनिक बिदा परेकाले कार्यक्रमको मिति परिवर्तन गरिएको हो।
सरकारले बालबालिकाको स्वास्थ्य सुरक्षा र पोषण सुधार गर्ने उद्देश्यले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। पहिलो चरण कात्तिकमा सञ्चालन हुने भए पनि दोस्रो चरणको कार्यक्रम भने वैशाख ६ र ७ गते हुने व्यवस्था छ।
कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ। त्यस्तै, १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि वितरण गरिनेछ।
बालबालिकालाई कुपोषण तथा विभिन्न स्वास्थ्य समस्याबाट जोगाउन यो कार्यक्रम महत्त्वपूर्ण मानिन्छ। त्यसैले सरकारले तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरूलाई आग्रह गरेको छ।




प्रतिक्रिया