Logo

कामु प्रधानन्यायाधिश जोशी र प्रचण्डबिचको भेटबारे कानुनमन्त्री तामाङले मुख खोले



वैशाख १३, काठमाण्डौ । कामु प्रधानन्यायाधिश दिपकराज जोशी नेताहरुको घरदैलोमा गएको भन्ने आरोपको खण्डन गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सामान्य भेटघाट र चियापानलाई अन्यथा सोच्न नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री तामाङले जोशीको भेटघाटलाई राजनीतिक रुपमा नबुझ्न आग्रह गरे ।

जोशीले प्रचण्डलाई भेटेर राजनीतिक लबिङ गरेको भन्ने आरोप अस्विकार गर्दै मन्त्री तामाङले भने, “जोशीले प्रचण्डलाई भेटेको कुनै नियुक्ति वा कामका लागि आग्रह गर्नका लागि होइन । सामान्य चियापान मात्रै हुन सक्छ ।”

बाहिर प्रचार गरिएजस्तो नकारात्मक पक्ष केही पनि नरहेको उनको दाबी छ । न्यायालयले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्नेमा दुईमत नभएको बताउँदै उनले सामान्य भेटघाटलाई राजीतिक हस्तक्षेपका रुपमा लिन नहुने मन्त्रीले बताए ।

“शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यका सबै अंगहरु जिम्मेवारीपूर्ण तरिकाले चल्नुपर्छ । कसले कसलाई भेट्यो भन्ने कुराले कुनै अर्थ राख्दैन ।” उनले भने ।

लोकतान्त्रिक व्यवस्थामा कुनै संस्थाका व्यक्तिले कसैलाई भेट्नै हुँदैन भन्ने खालको सोच राख्न नहुने मन्त्रीको तर्क छ ।

तामाङले अब बस्ने संसद बैठकले आवश्यक कानुन निर्माणको प्रक्रिया सुरु गर्ने बताएका छन् ।

मन्त्री तामाङले सम्बन्धित कानुनहरुको मस्यौदा सम्बन्धित मन्त्रालयहरुले बनाइरहेको जानकारी दिदै संसद बैठक बसेपछि छलफलमा लगिने बताए ।

संविधानअनुसार असोज ३ गतेभित्र आवश्यक सबै कानुन बनाउनुपर्ने भएकाले सरकार सोहीअनुसार अगाडि बढेको उनको दाबी छ ।

अहिलेका लागि प्रदेश सरकारलाई नमुना कानुन बनाएर दिइएको बताउँदै उनले सोही नुमना कानुनको आधारमा प्रदेश सरकारले आ–आफ्नो कानुन बनाइरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्