Logo

कांग्रेस बैठक : असन्तुष्टसँग देउवा कठोर बन्दै



काठमाडौं, १३ बैशाख । गत चैत ९ गतेदेखि जारी रहेको नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक सम्भवतः बिहिबार सकिँदैछ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक लम्बिएकाले सम्भवतः बिहिबार साँझसम्म सकिने बताएका छन् ।

सभापति शेरबहादुर देउवाले आफूविरुद्ध आक्रमक शैलीमा प्रस्तुत हुने नेताहरुलाई अनुशासनको कारबाही गर्ने सम्मको तयारी थालेका छन् । देउवा निकट एक नेताले भने,‘पार्टी नेतृत्वको विरुद्धमा जथाभावी बोल्नेलाई सभापतिले छोड्नुुहुन्न, उनीहरुलाई अनुशासनको कारबाही गरिन्छ।’

युवा नेता गगन थापाले मिडिया प्रोपागाण्डा मच्चाउनको लागि जे मन लाग्यो त्यही बोलेको भन्ने आरोप देउवा पक्षको छ । त्यस्तै देउवाले आफूविरुद्ध खनिने नेताहरु कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी लगायतका नेताहरुलाईपनि कडा चेतावनी दिएका छन् । देउवाले आफू निकटका नेताहरुसँग भन्ने गरेका छन्,‘यसरी पार्टी चल्दैन्, जथाभावी गर्ने र बोल्नेलाई कारबाही गरिन्छ।’

पार्टीको जारी केन्द्रिय समिति बैठकमा नेताहरुले बोल्ने क्रम जारी छ । बैठक पर्सी सम्पन्न गर्ने सभापतिको चाहना छ । सोही अनुसार भोलि केही नेताहरुले बोल्ने बुझिएको छ । कांग्रेस निकट उच्च स्रोतले भन्यो,‘सम्भवतः बैठक आजै सकिन्छ, यदि आज सकिएन भने भोलि कुनै पनि हालतमा सकिने छ ।’

बिहिबारको बैठकमा पदाधिकारीहरुले समेत बोल्ने कार्यक्रम रहेकाले बैठक सम्भवतः बिहिबारै सकिने सम्भावना रहेको हो ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतले आफ्नो धारणा राख्नेछन् ।

चुनावी समीक्षा गर्न बसेको केन्द्रिय समिति बैठकमा आरोप प्रत्यारोप जारी रहेको छ । संस्थापन पक्ष हारको जिम्मेवारी एक्लै लिन तयार छैन भने रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष भने सभापतिले नै यसको जसअपजस लिनु पर्ने तर्क गरिरहेको छ ।

बिहिबारको बैठक बिहान १०ः३० बजेदेखि सुरु हुने कांग्रेसले जनाएको छ । यो बैठकमा पदाधिकारी चयनको विषयले प्रवेश नपाउने तर यो बैठक सकिए लगत्तै रिक्त पदाधिकारी चयन हुने छ ।



प्रतिक्रिया दिनुहोस्