Logo

साँढे ३३ केजी सुन प्रकरण : पूर्व प्रहरी प्रमुखदेखि नेतासम्म तानिँदै



काठमाडौं, १३ वैशाख । साँढे ३३ केजी सुन प्रकरणमा नेपाल प्रहरीका पूर्व प्रमुखदेखि प्रमुख दलका प्रभावशाली नेताहरु समेत तानिने निश्चित भएको छ ।

सुन प्रकरणमा छानबिन समितिले अहिले द्रुत गतिमा काम गरिरहेको छ । समितिले छानबिन अगाडि बढाएसँगै प्रहरीकै बहालवाला हाकिमहरु पनि पक्राउ परे । पक्राउ पर्नेहरुले धमाधम माथिल्लो तहका हाकिमहरुकै नाम मुछ्न थालेका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताएका छन् । आजमात्रै पत्रकारहरुसँग कुराकानी गर्दै उनले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिइएको बताएका छन् ।

खनालले अपराध नियन्त्रणका लागि काम भइरहेको भन्दै अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको टिप्पणी गरेका हुन । उनले भने, “प्रहरी संगठनमा बसेका केही नालायक सदस्यहरुले गर्ने काम संगठनले गरेको काम हुँदैन । संगठनमा केही त्यस्ता किराहरु हुन्छन्, तिनीहरुलाई हटाउनुपर्छ ।” उनीहरुका कारण प्रहरी संगठनलाई असर परेको भन्दै उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई कारवाही गरिने बताए ।

खनालले यस्तो अभिव्यक्ति दिएसँगै सुन प्रकरणमा उनी कठोर बनेर प्रस्तुत हुने पक्का भएको छ ।

३३ किलो सुन र सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समिति समक्ष बयान दिने क्रममा एकाएक गृह मन्त्रालयबाटै गायव भएका प्रहरी नायव उपरिक्षक (डीएसपी) सञ्जय राउत समितिको सम्पर्कमा आएका छन् ।

गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेल नेतृत्वमा गठित समितिका एक सदस्यले दिएको जानकारी अनुसार बिहिबार बिहान संयोजक पौडेललाई टेलिफोन गरेर डिएसपी राउत सम्पर्कमा आएका हुन् । वैशाख ११ गते साँझ मन्त्रालयमा बयान दिने क्रममा बहाना बनाएर बाहिर निस्केका राउत एकाएक फरार भएका थिए ।

सुन प्रकरणमा मुछिएका तीन प्रहरी अधिकारीलाई बिहीबार जिल्ला अदालत, मोरङ पेश गरिएको छ । प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई म्याद थप गर्नका लागि जिल्ला अदालत, मोरङ लगिएको हो ।

तीनै जनामाथि संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको हो । अनुसन्धान टोलीले उनीहरुको साढे ३३ केजी सुनका मालिक गोरे भनिने चुडामणि उप्रेतीसँग शंकास्पद सम्बन्ध भएको निष्कर्ष निकालेको छ । उनीहरुलाई छानबिन समितिले बयानपछि नियन्त्रणमा लिएको थियो ।

यसअघि गत आइतबार नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौलालाई पनि बयानपछि समितिले नियन्त्रणमा लिएको थियो । उनीमाथि पनि संगठित अपराध र कर्तव्य ज्यान अन्तरगत मुद्दा चलाइएको छ ।

गत ७ माघमा यूएईबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । घटनामा संलग्न हालसम्म २२ जना पक्राउ परिसकेका छन् भने २१ जना फरार छन् ।



प्रतिक्रिया दिनुहोस्