Logo

माओवादी अझै सुध्रन सकेन, ब्यानर आंतक मच्चायो : प्रधानमन्त्री



काठमाडौं, १३  वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युुनिष्ट पार्टी स्थापना दिवसको दिन राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राखिएको ब्यानर माओवादी केन्द्रका कार्यकर्ताले हटाएकोमा आपत्ति जनाएका छन् ।

१९औं मनमोहन स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले माक्र्स र लेनिनको फोटो नराखी ब्यानर तयार गरिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले ब्यानर आंतक मच्चाएको भन्दै माओवादी अझै सुध्रन नसकेको बताए ।

उनले पञ्चायतविरुद्ध उफ्रनु र बनाएर राखिएको ब्यानर फालेर उत्रनु फरक नभएको टिप्पणी गरे । उनले मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको फोटो हटाउनू भन्नेहरु केटाकेटी भएकाले बिस्तारै बुझ्दै जाने पनि बताए ।

उनले मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ र मदन भण्डारी कसैले चाहिँदैन भन्यो भने कम्युनिष्ट पार्टी पनि नरहने बताए । एमाले–माओवादी केन्द्रबीचको पार्टी एकताअघि केही समस्या देखिएपनि हल गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

दुई पार्टीबीचमा भागबन्डाको समस्या रहेको स्वीकार्दै उनले त्यसमा सबैको चित्त बुझाउन नसकिने प्रस्ट गरे ।प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी आदर्शवादी नेता भएको भन्दै लोकतन्त्र स्थापना गर्न उनको योगदान महत्वपूर्ण रहेको बताए ।

एमाले नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले एकीकृत सवल कम्युनिष्ट पार्टी मनमोहन अधिकारीको इच्छा भएको भन्दै त्यो केही दिनमा पूरा हुने बताए ।

कम्युनिष्ट आन्दोलनमा त्याग, बलिदान र निष्ठाको राजनीति मनमोहन अधिकारीले गरेको भन्दै उनीहरुले कम्युनिष्ट पार्टीहरु मनमोहन अधिकारीले देखाएको बाटोमा हिँड्नसक्नु पर्ने बताए ।

कार्यक्रममा ढाकाराम सापकोटाद्वारा लिखित ‘मनमोहन अधिकारी नेपाली राजनीतिका ६ दशक’ नामक पुस्तक विमोचन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्