Logo

सरकारले ग्राण्ड डिजाइन गरेर जनतामाझ हामीलाई नराम्रो बनायो : कर्माचार्य



यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्नका लागि तपाईहरु तयार हुनुभएको हो ?
हामीले पटकपटक हामी सिन्डिकेटधारी होइनौँ भनेर भनेका छौँ । तर हामीलाई सिन्डिकेटको विल्ला लगाइयो । सिन्डिकेट के हो भन्ने कुरामा संचारमाध्यम जानकार छैनन्, जसका कारण जनतामा पनि भ्रम छरियो । सरकारले पनि खुब ठूलो काम गरेँ भनेको छ, तर सिन्डिकेट भनेको के हो सरकारलाई पनि थाहा छैन । वास्तवमा हिजो पनि सिन्डिकट थिएन, आज पनि छैन र भोली पनि हुँदैन । वास्तविक रुपमा सिन्डिकेट कहाँ छ भन्ने कुरा पनि सरकारलाई थाहा छैन । जहाँ सिन्डिकेट छ त्यहाँको अन्त्य गर्यो भने हामी पनि स्वागत गर्छौँ ।

सरकारले त यातायात क्षेत्रको सिन्डिकेट तोडियो भन्दै छ त ?
हामीले १५ वर्षअघि देखि नै यातायात क्षेत्र व्यवस्थित बनाउन सरकारलाई आग्रह गर्दै आएका थियौँ । तर कुनै पनि सरकारले सुनेन ।

अहिले तपाईहरु सरकारसँग झुक्नुभएको हो ? आत्मसमर्पण गरिएको भन्ने टिप्पणी गरिएको छ नि ?
हामी सरकारसँग झुक्नुपर्ने परिस्थिती केही पनि छैन । तर सरकारले पञ्चायतकालमा पनि नअपनाइएको शैली अपनाएको छ । यो जनताको सरकार होइन, शोषक सरकार हो । सरकारले हाम्रो मौलिक अधिकारसमेत हनन हुने गरी हामीमाथि धरपकड गर्यो । हामीले वार्ता र छलफल गरौँ भनेर पाँच गते नै पत्रकार सम्मेलन गरेर २१ गते हाम्रो गाडी घर ग्यारेजमा थन्क्याउँछौँ भन्दा पनि सरकारले वार्तामा बोलाएन ।

यसपटक तपाईले हार्नुभएको हो ?
सरकारले जित्यो त हामीलाई के फरक पर्यो ? तर हामीले पनि हारेको छैन । किनकी हामीले कहिल्यै पनि गलत गरेका छैनौँ । अर्कोतिर हामीले सरकारलाई विश्वास गरेको थियौँ, त्यो त्रुटी रहेछ ।

तर सरकारको कदमलाई जनताले पनि साथ दिए नि ?
सरकारले जे भन्यो त्यही कुरा जनताले हो हो भन्दै आएका छन् । हामीले मिडियाका साथीहरुसँग समयमै कुरा राख्ने अवसरा पाएनौँ । त्यसैले अहिले सबै सरकारको पछि लागेका हुन् । सरकारले ग्राण्ड डिजाइन गरेर जनतामाझ हामीलाई नराम्रो बनायो । तर समय वलवान हो, हामीले समय कुरिरहेका छौँ ।

यातायात समितिहरुको बैँक खाता रोकिएको छ । यसले तपाईहरुलाई कस्तो प्रभाव पार्छ ?
सरकारले त जे पनि गर्न सक्छ । सरकारभन्दा ठूलो को ? अब खाता रोकिएपछि आजदेखि सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ । सडक दुर्घटना भयो भने विरामीको उपचार सरकारले गरिदिनुपर्छ । बैंक खाता फुकुवा नभएसम्म दुर्घटनामा घाइते भएका यात्रुहरुको उपचार गर्न सक्दैनौँ । हाम्रो बैंक खाता रोक्का छ । दुर्घटनाका घाइतेको पनि उपचार गराउन सक्दैनौं ।

तपाईको नेतृत्वको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ चुकेको हो ?
मेरो नेतृत्व चुकेको छैन । यही मिडियामा तपाईले नै भन्नुभएको थियो, तपाईहरुको कुरा ठिक छ । अहिले पनि हामी परीक्षणकालमा छौँ । नतिजा आउन बाँकी नै छ । जनताले हामीलाई पास गराउनेछन्, त्यो दिन कुरिरहेको छु । तर अब सरकारले जनतालाई सुविधा दिनुपर्ला नि ? हामी त हिजोदेखि मुक्त भयौँ । अब सरकारले हामीलाई यो भएन र त्यो भएन भन्ने दिन त सकियो नि ।

तपाईहरुको सम्पत्ति छानविन गर्ने सरकारको तयारी छ । यसमा तपाईहरुको धारणा के छ ?
गरोस् न । हामीले गलत गरेका छैनौँ भन्ने कुरामा हामी ढुक्क छाँै । तर जनतामाझ जे जति भ्रम फैल्याइएको छ, त्यो सबै विस्तारै यथार्थ थाहा हुँदैछ ।

अब यातायात क्षेत्र कस्तो हुन्छ ?
यो कुरा हामीसँग सोध्ने होइन । अब यसको जवाफ सरकारले दिन्छ । हामी त मुक्त भइसक्यौँ । तपाइहरुको भाषामा हामी सिन्डिकेटधारीले सरकारले जे भन्यो त्यो गरिसक्यौँ । आजदेखि तपाईहरुले हामीलाई फर्केर हेर्ने होइन । त्यो कुरा बुझ्नुहोला ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्माचार्यले व्यक्त गरेका विचार



प्रतिक्रिया दिनुहोस्