Logo

नेविसंघमा चुलियो विवाद



काठमाडौं २६ बैशाख ।
कांग्रेसको भ्रातृ संगठन नेविसंघमा संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच विवाद बढेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरको कार्यशैली र व्यवहारबाट असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर नेविसंघ पदाधिकारी र सदस्यहरूले समानान्तर बैठक र कार्यक्रम चलाउन थालेका छन् ।

केही दिनअघि समानान्तर बैठक बसेलगत्तै बुधबार सुन्दरीजलमा दुवै पक्षले भिन्दाभिन्दै कार्यक्रम आयोजना गरेका छन् । एकै स्थान र उस्तै समयमा दुवै पक्षले कार्यक्रम राखेपछि विवाद सतहमा आएको हो । अध्यक्ष महरले पार्टीभित्रको आन्तरिक कलहकै प्रभाव नेविसंघमा देखिएको स्विकारे । सुन्दरीजलस्थित बीपी संग्रहालयमा संस्थापन पक्षले प्रशिक्षण कार्यक्रम घोषणा गरेलगत्तै संस्थापनइतर पक्षले सोही ठाउँमा महाधिवेशनका लागि विधान एवं नियमावली सम्बन्धमा छलफल तथा अन्तक्र्रिया आयोजना गरेका छन् ।

संस्थापनइतर पक्षको आयोजक पनि नेविसंघ केन्द्रीय कार्यसमिति नै भनिएको छ । यसको नेतृत्व महामन्त्री कुन्दन काफ्लेले गरेका छन् । पौडेल पक्षीय विद्यार्थी नेता मोती भण्डारीका अनुसार वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका नेताले आफूहरूले राखेको कार्यक्रमलाई सम्बोधन गर्ने दाबी गरे ।

तर, पौडेलले मंगलबार साँझसम्म जाने/नजाने निर्णय गरेका छैनन् । अध्यक्ष महरले संघले राखेको कार्यक्रममा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र वरिष्ठ नेता पौडेलसहितका शीर्ष नेता सहभागी हुने दाबी गरे । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्