Logo

पदाधिकारी मनोनयन विधानसम्मत छैन, कति काम गर्छन् हेरौँला : डा. शेखर कोइराला



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रकै असहमतिकाबीच पदाधिकारी मनोनयन गरेका छन् । उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकासशरण महतलाई मनोनित गरेकोप्रति सबै पक्ष सन्तुष्ट हुन सकेका छैन । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकको निर्णय, पदाधिकारी मनोनयन, आगामी महासमिति बैठक लगायतका विषयवस्तुको सेरोफेरोमा रहेक ऋषि धमलाले नेता डा. शेखर कोइरालासँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयन गर्नुभयो । यसमा तपाईहरुको धारणा के छ ?
दुई महिनामा गर्नुपर्ने काम दुई वर्षसम्म नगर्नु नै विधानविपरित हो भनेर मैले केन्द्रिय समिति बैठकमै भनेको थिएँ । विधान सम्मत नभएकाले विधान परिवर्तन गरौँ भनेको थिएँ । विधानका केही धाराहरु निलम्बन गरौँ, अनि मात्रै पदाधिकारी मनोनयन गरौँ भनेको थिएँ । तर शेरबहादुरजीको बहुमत छ, त्यो बहुमतलाई प्रयोग गर्नुभयो ।

त्यसोभए अब झन तिक्तता बढेको हो ?
हाम्रो कुरा सुनेको भए राम्रो हुन्थ्यो । सुन्नुभएन । त्यसले तिक्तता बढ्यो । यो तिक्तता बढेको त सुरुदेखि नै हो । केन्द्रिय समितिको बैठकको निर्णयले पनि तिक्तता बढेको थियो । पदाधिकारी मनोनयनले झन बढायो ।

सभापति देउवाले पार्टीभित्र सिडिकेट लाद्नुभयो भन्ने आरोप लागेको छ । हो ?
के हो सिन्डिकेट भनेको ?

तपाईलाई थाहा छैन ? एकलौटी गर्नुभयो नि ?
गर्नुभयो त अब हामीले के गर्ने ? उहाँको बहुमत छ । विधानसम्मत बनाउँभन्दा मान्नुभएन । शेबहादुरजीले आफ्नो मन्तव्यमा पनि विधानसम्मत र सहमतिका आधारमा गर्छु भन्नुभएको थियो । तर विधानसम्मत पनि भएन, सहमति पनि भएन । उहाँ सहमतितिर जान चाहनुभएन ।

पदाधिकारीमा मनोनयन भएका विमलेन्द्र निधी, पूर्णबहादुर खड्का र प्रकासशरण महतप्रति तपाईको धारणा के छ ?
उहाँहरु सिनियर नै हुनुहुन्छ । निधी, खड्का र महत टिपेर ल्याएका व्यक्ति होइनन् । व्यक्तिगत रुपमा उहाँहरु राम्रो हुनुहुन्छ । तर यति धेरै विवाद भएको छ । चुनावमा पराजय भएको बेला यसरी अगाडि बढ्दा झन विवाद बढ्छ । मनोनित पदाधिकारीले कति काम गर्नुहुन्छ त्यो पनि हेरौँला नि । काम नै हुँदैन अब ।

कांग्रेसमा अहिले विवादै विवाद छ । नेपाल विद्यार्थी संघमा पनि विवाद चुलिएको छ । अब कसरी समस्या समाधान हुन्छ ?
अब कसले हेर्ने ? सभापतिजी सामुहिक नेतृत्व हो भन्नुहुन्छ । जिम्मेवारी लिनुपर्ने उहाँले हो, तर उहाँले मेरो मात्रै जिम्मेवारी होइन भन्नुहुन्छ । तर सामुहिक जिम्मेवारी भए पनि कुनै पनि कुरा सामुहिक रुपमा सहमति जुटाएर गर्नुभएको छैन । जहाँ खराब हुन्छ त्यहाँ सामुहिक जिम्मेवारी भन्नुहुन्छ, पेल्ने ठाउँमा पेलेर जानुहुन्छ ।

अब तपाईहरु के गर्नुहुन्छ ?
केन्द्रिय समितिसम्म त हो पेल्न सक्ने । महासमितिमा कसरी पेल्नुहुन्छ हामी पनि हेरौँला । महासमिति बैठकमा कसरी पेलेर लग्नुहुँदोरैछ हेरौँला नि । शेरबहादुर देउवाजी बलियो र कांग्रेस कमजोर भएको छ । देउवाको गुट चाउनेहरु पनि बलियो भएका छन् ।

अब देउवाको नेतृत्वमा कांग्रेस बलियो हुन सक्दैन ?
हार स्विकार गर्न नसक्ने यो नेतृत्वले कांग्रेसलाई बलियो बनाउन सक्दैन भनेर त धेरै पटक भनिसकेको छु । जबसम्म हार स्विकार गर्न सकिदैन तबसम्म अगाडि बढ्न सकिदैन । देउवाले त कांग्रेसका भातृ र शुभेच्छुक संस्थाहरु सबै कमजोर बनाउँदै हुनुहुन्छ ।

तपाईहरुले केही गर्न सक्नुभएन है ?
हामीले गर्ने के ? केन्द्रिय समिति बैठकमा छलफल चलाएकै हो । सहमतिका उपायहरु थिए । सहमतिका उपायहरु मैले शेरबहादुरजी र रामचन्द्र पौडेललाई पनि भनेको थिएँ । यसरी जाउँ भनेर सुझाब दिएको थिएँ । तर उहाँहरु सहमतिमा आउनुभएन ।

शीघ्र महाधिवेशनको कुार उठेको थियो । तर अब नहुने भयो हैन ?
पहिला महासमितिको बैठक हुन दिनुस् न, अनि थाहा हुन्छ ।

महासमिति बैठक कहिले हुने नै ठेगान भएन नि ?
एउटा कुरा के बुझ्नुस भने नेपाली कांग्रेस महासमिति सदस्यहरु जिल्लामा घाँस खाएर बसेका छैनन् । कति साथीहरु शेरबहादुजी र रामचन्द्रजीका कन्टेमपोररी होलान् । कतिपय सदस्यहरु त शेरबहादुर र रामचन्द्रसँग सँगै काम गरेर सँगै जेलनेल खाएर बसेका हुन्छन् । अहिलेको केन्द्रिय समितिको बैठकको निर्णय र पदाधिकारी मनोनयको निर्णयले ति सदस्यहरुको मुटुमा कति चोट पुगेको होला ?

महामन्त्री डा. शशांक कोइरालाले पनि देउवालाई नै साथ दिनुभएको छ हैन ?
महामन्त्रीले कसलाई साथ दिनुभएको छ त्यसको कुनै अर्थ छैन । महासमितिको बैठक छिटोभन्दा छिटो हुनुपर्छ । कसले कसलाई साथ दिन्छ त्यसको मतलब छैन । देउवाको काम मन पर्यो होला महामन्त्रीले साथ दिनुभयो, तर मलाई चित्त बुझेको छैन साथ दिन्न । मलाई महाधिवेशन प्रतिनिधीले केन्द्रिय समितिमा जिताएर पठाएका हुन् । मैले आफ्नो विचार राख्ने हो । अरु कसैको विचार राख्दिन ।

कोइराला परिवारभित्र एकमत नभएको हो ?
फेरी कोइराला परिवारको कुरा । कोइराला परिवारको कुरा नगर्नुस राजनीतिमा । नेपाली कांग्रेसमा धेरै यस्ता परिवार छन्, जसले धेरै दुःख गरेका छन् । उहाँहरुको पनि योगदान छ भन्ने कुरा हामीले बुझ्नुपर्छ । विषयवस्तुमा एकमत हुने हो । अहिलेको विषयवस्तुमा महामन्त्रीसँग मैले फरक मत राखेँ । केन्द्रिय समितिमा पनि मैले महामन्त्रीकोभन्दा फरक मत राखेको थिएँ । शुशीलदा हुँदा पनि मैले फरक मत राखेको थिएँ । विषयवस्तुमा राजनीति गर्ने हो । कोइराला परिवार भनेर राजनीतिक गर्ने होइन ।

महाधिवेशनमा जाँदा कोइराला परिवार एकमत हुन सक्छ कि सक्दैन ?
फेरी यही कुरा । मलाई हासो उठ्छ । समय बाँकी नै छ । किन चिन्ता गरेको ?

तपाई सभापतिमा उठ्ने कुरा, कार्यकर्ताले त तपाईलाई मन पराएका छन् नि ?
कार्यकर्ताले मन पराएका छन् भने उठौँला नि । तर सर्वेक्षण गर्दै जाउँ । पहिला महासमिति बैठक गरौँ । केन्द्रिय समिति र शेरबहादुरजीले गरेका निर्णयका बारेमा महासमिति बैठकले छिनोफानो गर्ला ।

अहिले महामन्त्री शशांकले अहिले देउवालाई साथ दिने, आगामी महाधिवेशनमा देउवाले शशंकलाई सभापतिमा साथ दिने सहमति भएको चर्चा छ नि ?
शेरबहादुर देउवाले दिदैमा कोही सभापति बन्नेवाला छैन । सभापति त महाधिवेशन प्रतिनिधीले चयन गर्ने हो । तर कोइराला परिवार एक ढिक्का हुन्छ । त्यसमा तपाई ढुक्क हुनुस् । शेरबहादुर देउवाले चाहेर कोइराला परिवार टुक्रिदैन । कांग्रेसलाई बचाउनका लागि हामी सँधै एकठाउँमा हुन्छाँै ।



प्रतिक्रिया दिनुहोस्