असार १२, काठमाण्डौ । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड कतिबेला अवरुद्ध हुन्छ भन्ने ठेगान छैन । यस वर्ष पनि वर्षा लागेसँगै सडकखण्ड अवरुद्ध हुने क्रम बढिरहेको छ । उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडक खण्ड हो ।
मंगलबार विहान साढे ५ बजेदेखि बन्द भएको नारायणगढ मुग्लिन सडकखण्ड झण्डै ११ घण्टापछि सञ्चालनमा आएको थियो । पहिरोले सडक अवरुद्ध हुँदा सोमबार रातिदेखि सवारी साधन जाममा परेका थिए ।
सम्बन्धित समाचार :
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, प्रहरीको भ्यान नै पुरियो
नारायणगढ-मुग्लिन सडक खण्ड सास्तिबाट आस्तिमा परिणत-फोटो सहित
मुग्लिनमा पहिरोले दुई वटा गाडी पुरिए
सडकमा दुवै तर्फ सवारीको अधिक चाप भएको कारणले सहज सञ्चालनका लागि अझैं केही घण्टा लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । सयौं सवारी साधान र हजारौं यात्रुहरु बीच बाटोमा नै अलपत्र परेका थिए ।
सडकखण्डको ठाउँठाउँमा भारी सवारीका साधन फस्ने, बिग्रने समस्या पनि उत्तिकै छ, सवारी बिग्रने, फस्ने र सानासाना पहिरोले गर्दा सबै ठाउँमा दुईतर्फी सडक सञ्चालन हुन सक्दैन । जसका कारण पनि सवारी जाम हुने समस्या उत्पन्न हुन्छ ।
नारायणगढदेखि ३६ किमीको दूरीमा रहेको मुग्लिन सहज अवस्थामा एक घन्टामा पुग्न सकिन्थ्यो, तर हिजोआज उक्त सडकखण्ड पार गर्न १०–१२ घन्टाभन्दा धेरै समय लाग्ने गरेको छ । नारायणगढदेखि ३१ देखि ३४ किमी दूरीमा रहेका चार किलो र कालिखोला भन्ने ठाउँ पहिरोको उच्च जोखिममा रहेको छ ।
नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक सात हजार तीन सय गाडी ओहोरदोहोर गर्छन् । सरकारले पहिरोको उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडक खण्ड हो । सडक विस्तारका क्रममा रहेकाले समय समयमा खस्ने पहिरोका कारण यात्रा जोखिमपूर्ण बन्ने गरेको छ ।
उक्त सडकखण्ड समयमा निर्माण कार्य सम्पन्न नहुँदा यात्रुहरुले थप सास्ती व्यहोर्नु परिरहेको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा यो सडकको स्तर उकास्ने काम भइरहेको छ । सडक विस्तारको काम सकिएपछि पनि पहिरोको जोखिम भने दीर्घकालीन हुने देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार २०७१ चैतदेखि हालसम्म यो खण्डका विभिन्न स्थानमा भएको दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ भने एक सय ७९ जना घाइते भएका छन् । अहिलेसम्म ७८ वटा ठूला दुर्घटना भएको तथ्यांक छ ।




प्रतिक्रिया