काठमाडौं, १५ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले संसदमा बोलेको कुराले स्वयम नेता नेपाललाई नै फाईदा नगर्ने भन्दै कडा चेतावनी दिएका छन् ।
आइतबार राति प्राईम टाईम्स् टेलिभिजनको लोकप्रिय कार्यक्रम “जनता जान्न चाहन्छन” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री महासेठले यस्तो बताएका हुन् ।
सरकारलाई लिएर पार्टीभित्रैबाट भएको आक्रमणलाई कसरी हेर्नुभएको छ भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,”अब त्यसलाई हेर्ने आ-आफ्नो दृष्टिकोण हुन्छ । मैले पनि यसलाई आफ्नै तरिकाले हेरेको छु । अहिले जुन प्रकारको बहस बुद्धिजिवीको बीचमा संसदभित्र या कुनै चीजको नाममा भैरहेको छ, त्यो बहस, त्यो छलफल र त्यो टिकाटिप्पणीले यो सरकारलाई केही बिगार्दैन् । न त हाम्रो पार्टीलाई कुनै प्रकारको क्षति हुन्छ ।”
तपाईकै पार्टीका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त देश डुब्दैछ ? लौन के अब गर्ने ? भनेर संसदमै बोल्नुभयो नि भनेर धमलाले सोधेको अर्को प्रश्नमा उनले भने,”उहाँले कुन प्रसँगमा भन्नुभयो, त्यो त उहाँले जान्ने कुरा हो । त्यो कुरा उहाँलाई सोध्दा हुन्छ । उहाँ मेरो आदरणीय नेता हुनुहुन्छ । उहाँले हामीलाई धेरै चीज सिकाउनुभएको छ । जुन कुरा उहाँले हामीलाई सिकाउनुभएको छ र जुन बाटो उहाँले हामीलाई हिँड्न सिकाउनुभएको छ, यदि उहाँ आँफैले आज त्यही बाटो बिराउनुभयो भने मलाई लाग्छ यो कुरा उहाँ स्वयम्को लागि र पार्टीको लागि पनि राम्रो हुँदैन् । र, देश उहाँले देश डुब्दैछ भनेर भन्नुयो । बास्तवमा कहीँ कतैपनि डुब्ने संकेत मैले देखेको छैन ।”
वर्तमान सरकार गठन भैसकेपछि देशमा विद्यमान सबै प्रकारका अस्तव्यस्तहरुलाई व्यवस्थित् गर्ने आफूहरुले गरेको मन्त्री महासेठको दाबी छ । उनले थपे,“विकास निर्माणका सवालमा स्वभाविक छ की यो सरकार गठन भएको भर्खरै ६ महिना बितेको छ । हामी अहिले ७ औं महिनामा प्रवेश गरेका छौं । ७ महिनामै हामीले असम्भव कुराहरु सम्भव गर्न सक्दैनौं । देशमा जतिपनि अस्तव्यस्तहरु थिए, ती सबै पूर्ववर्ती सरकारहरुले बिगारेर गएका थिए । किनकी जुन कुराहरु अहिले उठिरहेका छन्, ती कुराहरुसँग यो सरकारको सुरुको सम्बन्ध छैन । अबको सम्बन्ध छ । सुरुमा जे बिग्रियो बिग्रियो । पूर्व सरकारले बिगारेर गएको चीजलाई हामी अहिले व्यवस्थित् गर्दैछौं ।”
पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीच के अब विवाद, द्धन्द्ध र टकराब सुरु भएको हो त भनेर धमलाले गरेको अर्को प्रश्नमा मन्त्री महासेठले भने,”पार्टी अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री देश बाहिर गएको बेलामा जुन प्रकारको माहोल सिर्जना गर्न खोजिएको छ । बास्तवमा त्यो राम्रो कुरा होईन । र, सम्माननीय प्रधानमन्त्रीज्यूले भनेजस्तै यो देश डुब्ने वा डुबाउने होईन, यो सरकारले देशलाई त बनाउने हो । प्रधानमन्त्री ओलीज्यूको नेतृत्वको यो सरकारले देशलाई अगाडि लैजाने हो । समृद्धिको दिशामा अघि बढाउने हो । दक्षिण एशियामा मात्रै होईन, हामीले भनेका छौं की आगामी दश वर्षभित्रमा यो प्रतिव्यक्ति आयको मध्यम आयमा जान्छौं । पर क्यापिटा ईनकम हामी बढाउँछौं । एक वर्षभित्र (अहिले भर्खरमात्रै हामीले सरकार बनाएर आएका छौं), दुई वर्षभित्र यो देशका बाटा घाटादेखि लिएर अन्य विकास निर्माणका कामहरु एउटा ट्रयाकमा आउँछन् । विश्वका कुनैपनि देश ६ महिना वा एक वर्षभित्र बन्दैनन् ।”
प्रधानमन्त्री ओलीले नै यो देशको मुहार फेर्न सक्ने मन्त्री महासेठको ठोकुवा छ । उनले थपे,”एकदम ढुक्क हुनुहोस्, उहाँले नै यो देश बनाउनुहुन्छ । यसमा कुनै दुईमत छैन ।”
तर तपाईकै पार्टीका एक जना बरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीले त यो देश बनाउने होईन डुबाउन लागे भनेर प्रतिक्रिया दिनुभयो नि भनेर सोधेको अर्को प्रश्नमा उनले भने,”उहाँले के प्रतिक्रिया दिनुभयो, म त्यतातिर जान चाहँन्न । त्यो उहाँको व्यक्तिगत कुरा हो । हामीले पनि त्यही अनुसार लिएका छौं । यदि पार्टीको निर्णयसँग कुनै व्यक्तिको वा कुनै पार्टी सदस्यको अन्तरविरोध छ भने वा विमतिहरु छन् भने ती विमतिहरुलाई सम्बन्धित ठाउँमा राख्दा नै उपयुक्त हुन्छ । किनकी एउटै कमिटिभित्र प्रधानमन्त्री हुनुुहुन्छ । एउटै कमिटिभित्र म पनि छु । र अन्य बरिष्ठ नेताहरुपनि एउटै कमिटिभित्र हुनुहुन्छ । त्यसैले पार्टीभित्र यदि कुनै प्रकारको असन्तुष्टिहरु छन् भने सम्बन्धित ठाउँमा राख्नुपर्छ । पार्टीको ट्रयाकभन्दा बाहिर गएर राख्न मिल्दैन् । र, पार्टीको निर्णय मान्दिन् भने पछाडि त्योपनि कुरा सही होईन।”
आफू पनि स्थायी समितिको सदस्य भएको सुनाउँदै मन्त्री महासेठले बरिष्ठ नेता नेपालको भेला सकिन लागेको अन्तिम अन्तिम समयमा पुगेको सुनाए । उनले थपे,”उहाँले आफ्नो भेला भनेर बोलाउनुभएको थिएन् । उहाँले बडा दशैंको उपलक्ष्यमा पार्टीको बरिष्ठ नेताको हैसियतमा चियापान समारोहको आयोजना गरिएको हो । त्यही भएको हुनाले म पनि उपस्थित भएको हुँ ।”
नेता नेपाल पार्टीको बरिष्ठ नेता भएको उल्लेख गर्दै उनले चियापान समारोहमा सहभागी भएपनि आफू सुरुमा नपुगेकोले के-के बोलेको भन्ने कुरा जानकारीमा नभएको स्पष्ट पारे । उनले भने,”सबैजना फर्किसकेको अवस्थामा, अन्त्यमा म पुगेको थिएँ । म पुग्दा हाम्रो पार्टीको संसदीय दलका उपनेता सुवासजीपनि त्यही हुनुहुन्थ्यो । अरु-अरु साथीहरुपनि हुनुहुन्थ्यो । त्यसकारणले चियापान गर्नैहुन्न थियो भन्ने कुरा गलत हो । चियापान त शुभकामना आदान-प्रदानको लागि आयोजना गरिएको थियो ।”
देशको प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष देश बाहिर रहेको बेला बेमौसममा चियापानको नाममा असन्तुष्ट पक्षको भेला बोलाएर यसरी छताछुल्ला पार्दा कसलाई घाटा भयो त ? भनेर धमलाले तेर्साएको अर्को प्रश्नमा मन्त्री महासेठले भने,”यदि उहाँले त्यो चियापानको नाममा पार्टीभित्रका कुराहरु राख्नुभएको छ भने त्यो सरासर गलत कुरा हो । त्यहाँ उहाँले यस्ता कुराहरु राख्नुहुँदैनथ्यो । यद्धपी म चाहीँ त्यतिवेला त्यहाँ थिईंन् ।”
मन्त्री महासेठले अनुशासनबिना पार्टी चल्नै नसक्ने बताए । उनले भने,”अनुशासन पार्टी अध्यक्षद्धय ओली र प्रचण्डजीमा पनि लागु हुन्छ । र, अनुशासन हाम्रो बरिष्ठ नेता माधवकुमार नेपालमा पनि लागु हुन्छ । अनुशासन त ममा पनि लागु हुन्छ । सबैमा लागु हुन्छ ।”
माधव नेपालको असन्तुष्टि भेलालाई नेता बामदेव गौतमले पनि समर्थन गर्नुभयो नि ? यसलाई यहाँले कसरी लिनुभएको छ त ? भनेर पत्रकार धमलाले राखेको अर्को जिज्ञासामा उनले भने, “म त अन्तमा पुगेको थिएँ । खै बामदेवजीले के समर्थन गर्नुभयो, त्यो कुरा मलाई थाहा छैन । तर, उहाँ चियापानमा आउनु त स्वभाविक कुरा हो । तर, यदि चियापानको नाममा कसैले राजनीति गर्न खोजेको छ भने त्यो कुरा सरासर गलत हो ।”
पार्टीभित्रको आन्तरिक द्धन्द्ध यसरी छताछुल्ल हुँदा आजको दिनमा यसले कसलाई घाटा भयो त ? भनेर सोधिएको अर्को खरो प्रश्नमा उनले भने,”यसलाई मैले, बास्तवमा जुन प्रकारले तपाईले प्रश्न गर्नुभएको छ । त्यो प्रकारले लिएको छैन् । पार्टीको विरुद्धमा जाने व्यक्ति होस, या चाहे संघ/संस्था नै किन नहुन ? ती आँफै समाप्त हुन्छन् । तर, पार्टी समाप्त हुँदैन्। पार्टी त जनताले विश्वास गरेको पार्टी हो । जनताको पार्टी हो । न त यो हाम्रो अध्यक्षको पार्टी हो, न त पुष्पकमलजीको पार्टी हो, न माधव नेपालकै हो । पार्टीको निर्णय र नीतिविपरित बाहिर आएर कोही व्यक्ति बोल्न पाउँदैन् ।”
एकता प्रक्रिया टुँगो नलाग्दै यसरी विवाद र द्धन्द्धहरु छताछुल्ल हुनुपनि राम्रो संकेत नभएको उनको भनाई छ । यद्धपी उनले आफ्नो पार्टी गाउँदेखि केन्द्रसम्म एकताबद्ध भएर नै अघि बढ्ने ठोकुवा गरे । उनले भने,”कुनै व्यक्तिले चाहँदैमा कार्यकर्ताहरु पार्टीको विरुद्धमा लाग्दैनन् । कार्यकर्ताहरुले अब राम्रोसँग बुझिसकेका छन की पार्टीको नीति र विचार विपरित, निर्णयविपरित जाने कसैको अधिकार छैन । जे कुराहरु छन्, या असन्तुष्टिहरु छन् । ती सबै कुराहरु आफ्नो संगठित समितिमा राख्नुहोस् । यदि मलाई केही कुरा लाग्यो भने मैलेपनि आफ्ना कुराहरु त्यही स्थायी समितिमा राख्नुपर्छ । अध्यक्ष कमरेडहरुले पनि राख्नुपर्ने कुराहरु त त्यही स्थायी समितिमा नै हो । र, माधवजीलगायत जतिपनि बरिष्ठ नेताहरु हुनुहुन्छ, उहाँहरुले पनि आफ्ना कुराहरु राख्ने त त्यही स्थायी समितिमा हो । त्यसैले, त्यो समितिमा आफ्ना कुराहरु नराखेर यदि कसैको असन्तुष्टि छ भने ती कुराहरु बाहिर राख्नु राम्रो कुरा होईन् ।”
तर तपाईको पार्टीका बरिष्ठ नेता नेपालले त आफ्नो असन्तुष्टि त संसदमै राख्नुभयो नि त ? भनेर धमलाले राखेको अर्को प्रश्नमा उनले माधव नेपालको उक्त कदम बेठिक रहेको आरोप लगाए । उनले भने,”त्यो कुरा बेठिक थियो, र छ । संसदमा आफ्ना कुराहरु राख्ने अधिकार चाहीँ छ । तर, पार्टी नेताको हैसियतमा जसरी उहाँ बोल्नुभयो । त्यो कुराहरु नबोलेको भए हुन्थ्यो । हुन त त्यो उहाँको व्यक्तिगत कुरा हो । यसमा म कुनै टिकाटिप्पणी गर्न चाहँन्न । किनकी उहाँले एउटा प्रतिनिधिसभा सदस्यको नाताले बोल्नुभएको हो । त्यो उहाँले बोल्नु पाउनुहुन्छ । अब नेताको हैसियतले त्यस्तो कुरा बोल्नुहुन्थ्यो कि हुँदैनथियो, त्यो त उहाँले सोच्नुपर्ने कुरा हो ।”
प्रधानमन्त्री ओलीको विरुद्धमा अब पार्टीभित्रै सशक्त मोर्चा बन्यो नि ? यसलाई कसरी लिनुभएको छ भनेर सोधेको अर्को प्रश्नमा उनले भने, “तपाईलाई कसले भनेको छ, पार्टीभित्र प्रधानमन्त्री एक्लिनुभएको कुरा ? हाम्रो पार्टीभित्र अहिले कुनैपनि किसिमको मोर्चाबन्दी छैन । अध्यक्षद्धय ओली र प्रचण्डजी मिलेर नै यो पार्टी हाँक्नुभएको छ । मिलेर नै यो सरकार हाँक्नुभएको छ । उहाँहरुको बीचमा कुनैपनि प्रकारको अन्तरविरोध छैन । त्यसकारणले ढुक्क हुनुहोस्, पार्टीलाई कुनै क्षति हुनेवाला छैन ।”
पार्टीभित्र अध्यक्ष ओली र नेता नेपालबीच त अन्तरविरोध छ नि भनेर धमलाले सोधेको अर्को प्रश्नमा उनले भने-“त्यो अन्तरविरोध यदि कसैले आँफैले सिर्जना गर्छ भने म यसमा कुनै टिकाटिप्पणी गर्न चाहँदिन् । नीतिगत रुपमा पार्टीभित्र कुनै अन्तरविरोध छैन । यदि व्यक्तिगत रुपमा कहीँ, कतै र कसैको छ भने त्यो आफ्नो ठाउँमा छ ।”
पार्टीभित्रबाट अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई कुनैपनि प्रकारको असहयोगको सम्भावना नरहेको महासेठको जिकिर छ । उनले भने, “प्रधानमन्त्रीज्यूलाई पार्टीभित्रबाट असहयोग हुँदैन । बरु सहयोग नै हुन्छ । कसैले असहयोग गर्छु भनेर अब त्यो सम्भव छैन ।” प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट असहयोग गरेर बीचमै सरकार ढाल्ने सपना देख्नु त्यो दिवा सपनामात्रै हुने उनको तर्क छ । उनले भने,”हाम्रा नेताहरुले त यस्तो सोच्नै सक्नुहुन्न । हाम्रो पार्टीभित्रका जतिपनि नेताहरु हुनुहुन्छ, सरकार ढाल्नेजस्तो कुरा त सोच्नै सक्नुहुन्न । यदि यो सरकार ढाल्ने सपना देशी तथा विदेशी शक्तिहरुलेपनि देखेको छ वा हाम्रो पार्टीको उद्देश्यविरोधी शक्तिहरुले देखेको छ भने त्यो सबैको दिवा सपनामात्रै हुनेछ ।”
नेपालको ईतिहाँसमा कम्युनिष्ट नेतृत्वको सरकार बन्दा सबै प्रधानमन्त्रीहरुले बाध्यताले नै राजिनामा दिएको ईतिहाँस छ है भनेर धमलाले गराएको स्मरणमा उनले भने,”मनमोहन अधिकारीले जुन बेला सत्ता छोड्नुभयो, त्यो पार्टीको आन्तरिक कारणले छोड्नुभएको होईन । जहाँसम्म, यो सरकारको कुरा गर्दै हुनुहुन्छ, यो सरकार भावनात्मक रुपमा पनि बलियो छ । संगठित छ । यो सरकार कसैले ढालेर ढाल्ने खालको पनि छैन । प्रधानमन्त्रीलाई कसैले बाध्यता पार्नपनि सक्छन भनेर तपाईले भन्नुभयो, यो असम्भव कुरा हो । हाम्रो प्रधानमन्त्रीज्यूको जुन ईच्छाशक्ति छ, त्यो ईच्छाशक्तिलाई देशका सम्पूर्ण जनताले साथ दिएका छन् । र आगामी दिनमा पनि दिनुहुन्छ । र, तपाई ढुक्क हुनुहोस्, एक वर्षभित्र जनताले महशुस गर्नेछन् । एक वर्ष भन्नाले आजको दिनसम्म ६ महिना त बितिसक्यो । अबको ६ महिनाभित्र जनताले साँच्चिकै अनुभुति र सरकार भएको महशुस गर्छन् । स्वभाविक छ, जुन प्रकारले यो देशको राजनीतिक, आर्थिक, सामाजिक र विकासका अवस्थाहरु अस्तव्यस्त अवस्थामा थिए । यो सरकारले अहिलेसम्म ती सबै कुराहरुलाई व्यवस्थित् गर्नमा आफ्नो समय व्यतित गरेको छ । अब बल्ल-बल्ल हामीले काम गर्न थालेका छौं । अब ६ महिनामा कामको दृष्टिकोणमा हामी फड्को मार्छौं ।”
सरकारले अबको ६ महिनाभित्र काम गरेर आफ्नो विरोधी शक्तिहरुलाई देखाईदिने पनि मन्त्री महासेठको उद्धघोष छ । उनले भने,”चाहे ती देशी हुन, या विदेशी शक्ति नै किन नहुन ? नेपालको कम्युनिष्ट पार्टीले दुई तिहाईको प्रचण्ड बहुमतको सरकार बनाएको छ । त्यसैले तपाई राजिनामा दिनुपर्ने कुरा नगर्नुहोस् । यो राजिनामा दिनुपर्ने भन्ने कुरा कहाँबाट आयो ?”
पार्टी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपाल मिलेर अब प्रधानमन्त्रीबाट ओलीलाई हटाउने षड्यन्त्र भैसकेको छ अरे नि भनेर धमलाले राखेको सनसनीपूर्ण प्रश्नमा उनले भने,”यो असम्भव कुरा हो । यो हुनै नसक्ने कुरा हो । यो कुरा कल्पना नगरौं । अहिले अध्यक्षद्धय मिलेर पार्टी चलाउनुभएको छ । यदि माधव नेपालजीले सरकार ढाल्ने काममा लाग्नुभयो भने जनताको बीचमा उहाँको राम्रो हुँदैन् । तर, मैले अघिपनि भनेको छु- माधव नेपाल हाम्रो आदरणीय नेता हुनुहुन्छ । उहाँ कहिल्यैपनि यस्तो काममा लाग्नुहुन्न ।”
सरकारले राम्रो काम गर्न सकेन भने विकल्प खोज्नुपरेन ? भनेर सोधेको अर्को प्रश्नमा मन्त्री महासेठले थपे-“सरकारले काम गरेन भनेर कसले भन्यो ? सरकारले अहिलेसम्म धेरै राम्रा कामहरु गरेको छ । तपाई एउटा काम देखाईदे भन्नुहुन्छ । यो सरकार गठन गर्दा हामीले आर्थिक क्षेत्रमा स्वेतपत्रमार्फत ८ खर्ब रुपैयाँ हामीले दायित्व तिर्नुपर्ने थियो । त्यो दायित्वलाई स्विकार गर्दै अहिले हामीले विकास बजेट प्रक्रिया अघि बढाएका छौं । सरकारले नयाँ-नयाँ राष्ट्रिय गौरवका योजनाहरु ल्याएको छ । मदन भण्डारी १२ सय किलोमिटर सडकको योजना हामीले ल्याएका छौं । हामी आगामी तीन वर्षभित्र हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्न गैरहेका छौं । पुष्पलाल लोकपहाडी मार्ग हामी निर्माण गर्न गैरहेका छौं । धरान चतरा हामी निर्माण गर्न गैरहेका छौं । यो सरकार आईकन राजा महेन्द्रको पालामा बनेको महेन्द्र राजमार्ग जो दुई लेनभन्दा कहिल्यैपनि बढ्न सकेको थिएन । अहिले यो सरकार आउनेबित्तिकै धमाधम चार लेनको काम सुरु भैसकेको छ । यतिमात्रै होईन, यो सरकार आईसकेपछि १४७ वटा ठूला ठूला पुलहरु हामीले निर्माण गरेका छौं ।”
यो सरकार आईसकेपछि आफूहरुले दशैभरिका बाटाघाटाहरुलाई व्यवस्थित् गरिसकेको पनि उनले दाबी गरे । उनले भने,”नारायणघाटदेखि मुग्लिनसम्मको सडक हामीले मर्मतसम्भार गरेका छौं । अहिले सुचारु भैसकेको छ । यस्ता बाटाहरु हामीले धेरै व्यवस्थित गरेका छौं । यातायात क्षेत्रको सिण्डिकेटलाई तोडेका छौं । हुन त जनताले अहिलेलाई अनुभुति नपाएपनि वा नगरेपनि हामीले धेरै धेरै नयाँ-नयाँ कानुनहरुको व्यवस्था गरेका छौं । यो ६ महिनामा हामीले स्थानीय, प्रदेश र संघका कानुनहरु बनाएका छौं । कर्मचारीहरुको उचित व्यवस्थापन गरेका छौं । यो सरकारलाई फुर्सद कहाँ छ ? यो बीचमा आर्थिक रुपमा भारत र चीनसँग धेरै सम्झौताहरु पनि हामीले गरेका छौं । रेलमार्गका कुराहरु गरेका छौं । कनेक्टिभिटीका कुराहरु पनि गरेका छौं । कामहरुपनि सुरुवात भैसकेका छन् । कतिपय परियोजनाहरुको प्रि-फिजीविलीटीहरु सुरु भैसकेका छन् । हामी धेरै चाँडो बर्दिवासदेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माण गर्न गैरहेका छौं । अरु हामीले जनकपुरबाट सुरु गरिसकेका छौं । यही डिसेम्बरबाट हामी नेपालमा रेल सञ्चालन गर्न गैरहेका छौं । अगामी ५ वर्षभित्र हामीले काठमाडौंसम्म रेल ल्याउने कुरा गरिरहेका छौं ।”
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको यतिका दिन बित्दापनि अहिलेसम्म अपराधी पत्ता लगाउन सकेन ? यसमा सरकार चुकेको होईन ? भनेर पत्रकार धमलाले तेर्साएको प्रश्नमा उनले भने,”निर्मला पन्तको बलात्कारपछि हत्या भएको यो घट्ना निन्दनीय छ । यसको जति निन्दा पनि कमै हुन्छ । अपराधीहरु यति चलाख र चनाखो हुन्छन्, म एउटा कुरा भनौं अमेरिकाका राष्ट्रपति जोन अफ केनेडीको हत्या भएको आज कति वर्ष भैसक्यो, तर आजसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । हाम्रा जननेता मदन भण्डारीको हत्या भएको कति वर्ष भैसक्यो, अहिलेसम्म हामीले हत्यारा पत्ता लगाउन सकेका छैनौं । तरपनि, प्रयास जारी छ । सरकारलाई विश्वास छ, हामी छिटोभन्दा छिटो निर्मला पन्तको हत्यारालाई कारबाही गर्छौं ।”
सरकारले बलात्कारीलगायत अन्य अपराधीहरुलाई कडाभन्दा कडा कानुनी कारबाही गर्ने उनले स्पष्ट पारे । यद्धपी उनले यो सरकार आएरमात्रै बलात्कारलगायतका घट्नाहरु नघटेको स्पष्ट पारे । उनले भने,”यो घट्नालाई मैले बाईपास गर्न खोजेको होईन । तपाई भारतमा पनि हेर्नुहोस्, अरु देशमापनि हेर्नुहोस्, हो अपराधीहरु अपराधीहरु नै हुन् । अपराधी कसैको कोही हुँदैन् । अपराधी न कसैको छोरा हुन्छ । न कसैको भाई हुन्छ । अपराधी त अपराधी नै हो । त्यसकारण यो सरकार दृढ छ । सरकारले निर्मला पन्तको हत्यारालाई जोसुकै भएपनि छोड्दैन, कडाभन्दा कडा कारबाही गर्छ । हत्यारा जतिसुकै शक्तिशाली भएपनि कारबाही गरेरै छाड्छौं ।”
सरकारभन्दा शक्तिशाली अरु कोही पनि नहुने उनको भनाई छ । उनले भने,”किनकी सरकार त जनताले बनाएको हो । जनताको शक्ति तपाईलाई थाहा, जनताको शक्तिले चाह्यो भने जेपनि हुन्छ । हामी पनि अहिले यहाँ बसिरहेका छौं, नबस्न सक्छौं । ढुक्क हुनुहोस, सरकारले निर्मला पन्तको हत्यारालाई कारबाही गर्छ । पीडित परिवारलाई हामी न्याय दिलाउँछौं ।”
हाम्रो देशमा महिलामाथि हत्या, हिंसाका घट्नाहरु दिन-प्रतिदिन बढिरहेका छन् नि ? सरकारले किन अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउन नसकेको ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने-“हाम्रो प्रहरी प्रशासन सक्षम छ । तर, अनुशन्धानको क्रममा अहिले कामहरु भैरहेका छन् । हत्यारा पत्ता लगाउन समय लाग्छ । अपराधीलाई हामी समात्छौं । हामी कारबाही गर्छौं ।”
THE END***




प्रतिक्रिया