काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सहमहामन्त्री डा. प्रकाशशरण महतले पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग सफल हुने विश्वास व्यक्त गरेका छन् ।
सोमबार साँझ सुन्धरास्थित् सिभिल मलको क्वि.एफ.एक्स हलमा पुगेर अनुराग हेरेपछि उनले पत्रकारहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,“यो चलचित्रमा अहिलेको पुस्ताले चाहेको कुरा आएको छ । फिल्म अत्यन्तै राम्रो बनेको छ । म निकै प्रभावित भएँ । यसको कथावस्तु, प्रस्तुति र प्राविधिक पक्षपनि सवल पाएँ ।”
उनले फिल्मको कन्टेन्ट पनि राम्रो रहेको सुनाए । उनले थपे,“यो चलचित्र सबै नेपालीहरुले हेर्नुपर्ने फिल्मको रुपमा लिएको छु । यसले राम्रो सन्देश दिएको छ । अहिलेको समयको मागलाई सम्बोधन गरेको छ ।”
महतले पत्रकार ऋषि धमला र अनुरागको अनन्योश्रित सम्बन्ध रहेको पनि बताए । उनले अनुरागले पूर्ण सफलता प्राप्त गर्नेसमेत विश्वास व्यक्त गरे । त्यस्तै उनले पत्रकारिता क्षेत्रमा सफल पत्रकार धमलाले नेपाली चलचित्र जगतमा पनि प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै सफलताको लागि शुभकामना दिए ।
उनले भने,“उहाँजस्तो मान्छे यो क्षेत्रमा आउनु खुशीको कुरा हो, अब चलचित्र बजारमा उत्कृष्ट चलचित्रको रुपमा अनुराग दर्ज भैसकेको छ । सबैले एकपटक हेरौं । नेपाली चलचित्रहरुलाई माया गरौं । अल द बेष्ट ऋषिजी ।”
सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।
निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।




प्रतिक्रिया