काठमाडौं, १२ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टीको स्थायी समिति बैठक तत्काल बोलाउन माग गरेका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएर बालुवाटारमा आराम गरेर बसिरहेको बेला भट्टराईले बैठकको माग गरेका हुन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा स्टाटस पोष्ट गर्दै भनेका छन्,‘नेकपा स्थायी समितिको बैठक अब कहिले ?
भट्टराईको फेशबुक स्टाटस जस्ताको त्यस्तै :
‘नेकपा स्थायी समितिको बैठक अब कहिले ?
थुप्रै थुप्रै एजेण्डाहरु चाङ्माथि चाङ् लागेका छन् । बैठक मार्फत एजेण्डाले समाधान खोजेको छ । पार्टीले स्फुर्ती खोजेको छ । बैठकको प्यासले ओइलाईरहेको अवस्थामा १२ र १३ गते नेकपाको स्थायी समितिको बैठक बस्ने सूचनाले थोरै भएपनि राहात भएको थियो ।आज सुर्योदय नहुँदै अनिश्चित कालका लागि बैठक स्थगित भएको बिधुतिय समाचारको घण्टी बज्यो । किन हुन्छ यस्तो ? राष्ट्र, जनता, पार्टी र आन्दोलनप्रतिको जबाफदेहिता यसरी पुरा होला ? कति पटकसम्म कामगर्ला शंकाको सुबिधाले ? समस्यालाई पन्छाउनु क्षणिक समाधानमात्र हो । जसले प्रकोपको सम्भावनालाई कायमै राख्छ । समस्यालाई बुझ्नु र सहि अर्थमा त्यसको समाधान गर्नाले पार्टीलाई बलियो र दिर्घजीबी बनाउँछ । हामी पहिलो बिकल्पलाई ईन्कार गर्छौ भनेको दोश्रोलाई स्विकार । समयको शक्तिलाई समय घर्किनु पूर्व नै बुझौं ।




प्रतिक्रिया