काठमाडौ,१४ काक्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित कतार फाउण्डेसनले आयोजना गरेको कार्यक्रमा सरिक भएकी छन। राष्ट्रपति भण्डारीलाई त्यस फाउण्डेसनकी कार्यकारी अधिकृत शेख हिन्द बिन्द खालिफा अल थानीले स्वागत गरेका थिए।
उक्त फाउण्डेसन अन्तर्गत विभिन्न विश्वविद्यालय तथा शिक्षालयहरू सञ्चालित छन् जहाँ ९० भन्दा बढी देशका विद्यार्थीहरू विभिन्न संकायमा अध्ययनरत छन् । यसै बीच यस फाउण्डेसनकी अध्यक्ष शेख मोजा बिन्द नसिरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेको जनाइएकोे छ। सो अवसरमा उनीहरू बीच विज्ञान, प्रविधि, खाद्यसुरक्षा लगायातका क्षेत्रमा दुई देशबीच अनुसन्धान र सहकार्य गर्ने विषयमा छलफल भएको वार्तामा सहभागी भएको परराष्ट्र मन्त्रालयका अधिकृत श्रीकृष्ण सिलवालले जानकारी गराएका छन। यसै गरी महिला सशक्तीकरण र बालशिक्षाका क्षेत्रमा समेत दुई देश बीच सहकार्य गरेर अगाडि बढ्न सकिने विषयमा समेत छलफल केन्द्रित रहेको अधिकृत सिलवालले बताए।
राष्ट्रपति भण्डारीले त्यस फाउण्डेसनको विशिष्ट आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए। फाउण्डेसनकी अध्यक्ष नसिरले राष्ट्रपति भण्डारीलाई मायाको चिनो समेत प्रदान गरेको बताइएको छ।
सो अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य सहभगी रहेका थिए ।




प्रतिक्रिया