Logo

देउवाको मागपछि गठन भयो वाइडबडी प्रकरण छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग



पुष १९, काठमाण्डौ । वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितताबारे छानविन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्य न्यायाधीश गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगका सदस्यहरुमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा रहेका छन् ।

आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले जाँचबुझ ऐन २०२६ को दफा ३ को २ बमोजिम यो जाँचबुझ आयोग गठन गरिएको हो ।

मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ‘नेपाल एयरलाइन्सद्वारा खरिद गरिएका दुईवटा वाइड बडी विमान ३३०–२०० का सम्बन्धमा उठेका महत्वपूर्ण सार्वजनिक सवालमा जाँचबुझ गरी नेपाल सरकारसमक्ष ४५ दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रिपरिषदले एक जाँचबुझ आयोग गठन गरेको छ ।’

विमान खरिदबारे संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले प्रतिवेदन तयार पारेको भोलिपल्ट सरकारले जाँचबुझ आयोग बनाएको हो । उपसमितिले पर्यटनमन्त्री, सचिव र निगमका महाप्रवन्धकसमेतलाई दोषी देखाएको छ ।

यसअघि संसदको हिउँदे अधिवेशनमा विपक्षी दलका नेता शेरबहादुर देउवाले वाइडबडी खरिदबारे छानविन गर्न माग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ गर्ने अग्रसरता देखाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्