Logo

निर्मला पन्त हत्या प्रकरणः कांग्रेसद्धारा संसदमा संकल्प प्रस्ताव पेश



काठमाडौं, २५ पुस ।  नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बारेमा संसदमा संकल्प प्रस्ताव पेश गरेकी छन् ।

सरकारले निर्मलाको हत्या भएको ६ महिना वितिसक्दा पनि अहिलेसम्म दोषीलाई पक्राउन गर्न नसकेको भन्दै बाध्य भएर संसदमा संकल्प प्रस्ताव दर्ता गरेको रिपोर्टर्सनेपाल डटकमलाई जानकारी दिएकी छन् ।

संकल्प प्रस्तावको पूर्णपाठ

सचिव,

प्रतिनिधि सभा ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ८४ बमोजिम देहाय बमोजिमको संकल्प पेश गर्ने अनुमतिका लागि सूचना दिएको छु ।

संकल्प

नेपालको संविधान २०७२ ले नागरिकको बाँच्न पाउने र न्याय पाउने अधिकारलाई सुनिश्चित गरेको छ । तर कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा. नं २ की १३ बर्षीय बालिका निर्मला पन्तको वलात्कार पश्चात हत्या भएको (२०७५ श्रावण १०) ५ महिनासम्म पनि अपराधी पहिचान नहुँनु सरकार शुन्यताको अवस्थामा पुगेको अनुभूती भईराखेको छ । घटनाको सत्य तथ्य पत्ता लगाउन आयोग माथी आयोग गठन गर्दै सरकारले प्रतिवेदन वुझि राखेको छ ।

तर सरकारले प्रतिवेदनहरु सार्वजनिक गर्ने हिम्मत गरिराखेको छैन । यसले आम जनमानसमा निर्मला पन्तको घटनामा सरकारमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न भएका शक्तिशाली व्यक्तिहरुको हात रहेको आशंका गरिराखेका छन् ।

अनुसन्धानका नाममा लागूपदार्थ दुव्र्यसनी, मानसिक सन्तुलन ठिक नभएका र निर्दोष युवाहरुलाई यातना र विभिन्न आर्थिक प्रलोभन लगायतका आश्वासन दिई जवरजस्ती जिम्मेवारी लिन लगाउने प्रहरी प्रशासनको क्रियाकलापले घटनालाई थप शंकाको घेरामा ल्याएको छ ।

निर्मला हत्या काण्डको चौतर्फी दवावका बाबजुत सरकार उदासिन र तथ्यलाई वाहिर ल्याउन नसक्नु अत्यन्त खेदजनक छ । यस घटनाले सरकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमानै बदनाम भईरहेको छ भने कम्युनिष्ट शासनमा यस्ता घटनाहरु सामान्य मानिन्छन्, भन्ने धारणा बन्दै गईरहेको छ ।

पीडितले न्याय पाउनुको सट्टा थप अन्यायको शिकार हुँदैं गईरहेको कुरा निर्मला पन्तको वावुको मानसिक सन्तुलन गुमेको कुराले पनि थप पुष्टि भएको छ । सार्वजनिक महत्वको यस बिषयलाई सरकारले अविलम्ब संसद समक्ष पेश गरोस भनी यो संकल्प प्रस्ताव दर्ता गर्दछु ।

 

 



प्रतिक्रिया दिनुहोस्