Logo

पर्यटकीयस्थलमा सौर्यबत्ती



काठमाडौँ,११ माघ । बागलुङको ताराखोला गाउँपालिकाले पर्यटकीयस्थलमा सौर्यबत्ती राख्न शुरु गरेको छ । पहिलो चरणमा गाईघाट झरना र तीनचुलेमा रहेको शिव मन्दिरमा सौर्यबत्ती जडान गरिएको छ ।

सार्वजनिकस्थलको सुरक्षाका साथै सर्वसाधारणको सहजताका लागि सौर्यबत्ती राख्न शुरु गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । गाउँसभाले सौर्य ऊर्जा प्रवद्र्धनका लागि चालु आवमा रु चार लाख बजेट छुट्याएको थियो ।

“सबै धार्मिक तथा पर्यटकीयस्थलमा सौर्यबत्ती राख्ने लक्ष्य छ”, अध्यक्ष घर्तीले भन्नुभयो, “आउँदा वर्षमा पनि यसले निरन्तरता पाउँछ ।” गाउँपालिकाको वडा नं १ मा पर्ने गाईघाट झरना पर्यटकीय गन्तव्यको रूपमा परिचित छ ।

पूर्वाधार विकास र प्रचारप्रसारका कारण पछिल्लो समय गाईघाट झरना घुम्ने आन्तरिक पर्यटक बढेका छन् । यस्तै वडा नं ३ तीनचुलेस्थित शिव मन्दिर गाउँपालिकाको महत्वपूर्ण धार्मिकस्थल हो ।

पर्यटकीय क्षेत्रसँगै बाक्लो बस्ती रहेका ठाउँमा पनि सौर्यबत्ती जडान गर्ने योजना गाउँपालिकाको छ । “विद्यालय, स्वास्थ्य संस्था, सडकलगायतका सार्वजनिकस्थलमा पनि सौर्यबत्ती राख्छौँ”, अध्यक्ष घर्तीले भन्नुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्