Logo

सरकार अलोकप्रिय, केपी ओली निकम्मा : झलनाथ खनाल (भिडियोसहित)



वाइडबडी प्रकरणमा जोसुकै दोषी भए पनि छाड्दैनौँ 
माघ १८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले वाइडबडी विमान खरिदमा भएको अनियमिताको सत्य तथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गरिने प्रष्ट पारेका छन् ।

अनियमिततामा जसको संलग्नता छ उसलाई उम्किन नदिने खनालले बताए । प्राइम टाइम्स टेलिभिनजको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेता खनालले प्रक्रियागत रुपमा विमान खरिदको सत्य तथ्य खोज्ने काम भइरहेको दावी गर्दै जोसुकै व्यक्ति दोषी पाइए पनि कारबाही गरिने बताए ।

नेता खनालले देशमा भएका मूलभूत समस्या समाधान भइसकेको जिकिर गरेका छन् ।

६२–६३ को जनआन्दोलनपछि नेपालमा ठूला राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै नेता खनालले संघीयताअनुसारको तीन तहको सरकार गठन भएपछि विकास निर्माणको बाटोमा देश अघि बढेको बताए ।

नेता खनालले वर्तमान सरकारले परिवर्तनको मर्मअनुसार काम गर्दै अघि बढ्नुपर्नेमा जोड पनि दिए ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोधका नाममा कुनै उपद्रो गर्न आवश्यक नरहेको पनि नेता खनालले बताए ।

सत्तापक्ष र प्रतिपक्षीबीच अन्तरसंघर्ष चल्ने भए पनि सकारात्मक पाटोलाई बढि ध्यान दिनुपर्ने नेता खनालको तर्क छ ।

लमो समयको अन्तरालपछि कांग्रेस प्रतिपक्षमा बसेको बताउँदै खनालले कांग्रेसको भूमिकालाई सबैले नजिकबाट हेरिरहेको बताए ।

संसद प्रतिपक्षको भएकाले सामान्य विरोध र अवरोधलाई सरकारले पनि अन्यथा ठान्न नहुने खनालको तर्क छ ।

डा. गोविन्द केसीको अनसन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच सरकारले बहुमतको बलमा विधेयक पारित गरेपछि समस्या थप जटिल बन्दै गएको छ ।

केसी र कांग्रेससहित अन्य दल र संघ संस्थाले पनि विधेयकलाई डा. केसीसँग गरेको सम्झौताबमोजिम संशोधन गरेर मात्रै ऐन बनाउनुपर्ने माग गरेका थिए ।

आफूसँग भएको सम्झौताविपरित सरकारले जबजरस्ती विधेयक संसदमा पेश गर्ने संकेतपाएदेखि नै अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

यस सन्दर्भमा कुरा गर्दै नेता खनालले केसीसँग भएको सम्झौतालाई राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा राम्रोसँग प्रतिबिम्बित गरिएको दावी गरे ।

“जहाँसम्म केसीको अनसनको कुरा छ । डा. केसीको अनसनको औचित्य समाप्त भएको छ । बाँकी कुरा केही छन् भने सरकारसँग वार्ता र छलफल गर्नुपर्छ ।” खनालले भने ।

नेता खनालले सरकारलाई पनि केसीका विषयमा गम्भीर हुन आग्रह गरेका छन् । वार्ताबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिदै खनालले सरकारले वार्ता गर्नुपर्ने बताए ।

“सरकारले चाँडोभन्दा चाँडो वार्ताको पहल गर्नुपर्छ ।” खनालले भने । नेता खनालले वर्तमान सरकार र प्रधानमन्त्री केपी ओलीको कामप्रति असन्तुष्टी पोखेका छन् ।



प्रतिक्रिया दिनुहोस्