Logo

अपहरणको नाटक गरी परिवारसँग फिरौती माग्ने पक्राउ



काठमाडौँ, १७ चैत । अपहरणको नाटक गरी फिरौती माग्ने एक जनालाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका– ६ का २६ वर्षीय जयभानसिंह धामीलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिनुभयो ।

महाशाखामा आएको सूचनाको आधारमा खोजी गर्दा उनलाई शनिबार काठमाडौँको चावहिलबाट पक्राउ गरिएका हो । उनलाई अपरिचित व्यक्तिले अपहरण गरी रू २३ लाख फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गरेको थियो । तर पछि उनले अपहरणको नाटक गरेको खुल्न आएको छ ।

सोधपुछ गर्ने क्रममा अपहरणमा परेको नभई लेनदेनको कारणले आफ्नै परिवारसँग फिरौती रकम माग गरी अपहरणको नाटक गरेको उनले स्वीकार गरेको महाशाखाले आज जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

सिसी क्यामरा जडान

नेपाल प्रहरीले मुलुकका विभिन्न क्षेत्रमा एक हजार ३५७ स्थानमा सिसी क्यामरा जडान गरेको छ । अपराध नियन्त्रण गर्ने उद्देश्यले चालू आर्थिक वर्ष शुरुआतदेखि अहिलेसम्म विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा सातै प्रदेशका संवेदनशील क्षेत्रमा सिसी क्यामरा जडान गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश नं १ मा १५७, प्रदेश नं–२ मा १९१, प्रदेश नं– ३ मा ८५ गण्डकी प्रदेशमा १४५, प्रदेश नं ५ मा २२५, कर्णाली प्रदेशमा २१२ र सुदूरपश्चिम प्रदेशमा १६५ स्थानमा क्यामरा जडान भएको छ । महानगरीय प्रहरी कार्यालयअन्तर्गत १७७ स्थानमा सिसी क्यामरा जडान गरिएको जनाइएको छ ।

उहाँले सिसी क्यामराका कारण गम्भीर अपराधका घटनामा दोषी पत्ता लगाउन सहज भएको उल्लेख गर्दै प्रहरीले अन्य क्षेत्रमा समेत क्यामरा राख्ने योजना बनाएकोे बताउनुभयो । अहिलेसम्म विभिन्न सङ्घ संस्थाको सहयोगमा एक हजार १२३ र प्रहरीको आफ्नै बजेटबाट २३४ स्थानमा क्यामरा राखिएको छ । नौ सय २५ क्यामरालाई भने प्रहरीले आफैं निगरानी गर्दै आएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न स्थानीय तहबाट आवश्यक बजेट छुट्याएर क्यामरा राख्ने काम समेत भइरहेको छ । अहिलेसम्म ७५१ स्थानीय तहसँग सम्झौता भई प्रहरी र समुदायले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा समाजमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

गएको कात्तिक ११ गतेदेखि शुरु भएको सो कार्यक्रमअन्तर्गत ७७ जिल्ला समिति, ७४० पालिका समिति, पाँच हजार २९३ वडासमिति, चार हजार ८८८ टोल समिति र पाँच हजार ८७४ विद्यालय सम्पर्क समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्