Logo

बालुवाटार र खुला मञ्चको जग्गा विवादले संसदमा प्रवेश पायो



वैशाख १९, काठमाण्डौ । बालुवाटार जग्गा प्रकरण र खुला मञ्च अतिक्रमणले नेपालमा भू माफियाको शक्ति कति छ भन्ने प्रष्ट पारेको छ । जनस्तरदेखि सरकारसम्म चासोको विषय बनेको जग्गा प्रकरणले नेपालमा अनियमितता कसरी र कतिसम्म हुन्छ भन्ने पनि खुलस्त बनाएको छ । यतिबेला जग्गा प्रकरणको विषय संसदीय समितिमा पनि प्रवेश पाएको छ ।।

काठमाण्डौको खुलामञ्च अतिक्रमण गरेर व्यवसायिक प्रयोजनका लागि सटर बनाइएको भन्दै चौतर्फी विरोध भएपछि काठमाडौं महानगरपालिकाले गत शनिबार ती पसलमा डोजर लगाएर भत्कायो । खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएका थिए । यता वालुवाटास्थित ललिता निवास भनिने सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको विषय पनि बहसमा छ ।

यसैबीच बालुवाटार जग्गा प्रकरण र खुला मञ्च अतिक्रमणका बारेमा सरकारले नागरिकलाई प्रष्ट पार्नुपर्ने माग सांसदहरुले गरेका छन् । सिंहदरबारमा बिहिबार बसेको राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा उनीहरुले ती दुई प्रकरणमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका विभिन्न नेता वा जोकोही मुछिए पनि पारदर्शी ढङ्गबाट छानबीन गरेर दोषीमािथ कारवाही गर्नुपर्नेमा जोड दिएका हुन् ।

समितिका सदस्य रमेशजङ्ग रायमाझीले सरकारले ती दुई घटनाका बारेमा सत्यतथ्य खोजी गरी जनताले देख्ने गरेर कारवाही गर्नुपर्ने बताउनुभयो । विगत वा अहिलेको सरकारका जोसुकै संलग्न भए पनि सरकारले यथार्थ बाहिर ल्याउन ढिलाइ गर्न नहुनेमा उहाँको जोड थियो ।

समितिका सदस्य सरिता प्रसाईँले ती दुई प्रकरणमा मुछिएका नेता र कर्मचारी कसैलाई पनि त्यसै छाड्न नहुने बताउनुभयो । ललितपुर र काठमाडौँ जिल्लामा रहेका धेरै खाली जग्गा एकपछि अर्काे गर्दै अतिक्रमण भइरहेको उहाँले जिकिर गर्नुभयो ।

छलफलपछि समितिका सभापति तारादेवी भट्टले हुरीले वा भूकम्पले लडाउने खालको विकास गर्न नहुने बताउनुभयो । समितिले प्रधानमन्त्री कार्यालय, मन्त्रालय, प्रदेश र स्थानीय तहसम्मको सुशासनको अवस्था हेरेर छलफल र आवश्यक निर्देशन दिइरहेको उहाँको भनाइ थियो ।समितिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको डिजाइनमा नेपालीपन झल्काउने गरी सुधार गर्नुपर्ने सुझाव दिएको छ ।

समितिले यही वैशाख ८ गते प्रदेश नं ५ को बुटवलमा प्रदशस्तरीय अन्तरक्रिया गर्दै विमानस्थलको समेत अनुगमन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्