Logo

‘एशियन रेजिलियन्स समिट–२०१९’ आयोजना हुने



भूकम्पपछिको अप्ठ्यारो अवस्था पार गर्दै नेपाल अब पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्यले पहिलोपटक ‘एशियन रेजिलियन्स समिट–२०१९’ काठमाडौँमा आयोजना गरिने भएको छ ।

नेपाल पर्यटन बोर्डले ग्लोबल ट्राभल एण्ड टुरिज्म रेजिलियन्स काउन्सिल, संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठन ९युएनडब्लुटिओ० र प्यासिफिक एशिया ट्राभल एशोसिएशन ९पाटा० सँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विभिन्न महादेशमा सम्पन्न सो समिटको एशियाको पहिलो संस्करण नेपालमा हुन लागेको हो । जेठ १७ र १८ गते सम्मेलन हुनेछ ।

नेपालसहित विभिन्न मुलुकका पर्यटन व्यवसायी, विज्ञहरुको जमघट हुने उक्त सम्मेलनले नेपालको पर्यटन क्षेत्रले विसं २०७२ को विनाशकारी भूकम्प पश्चात् गरेको पुनःस्थापनको नमूना प्रस्तुत गरी विश्वभरिका पर्यटन क्षेत्रका हस्तीको सञ्जाल तथा ज्ञान र अनुभव साटासाट गर्ने अवसर प्रदान गर्नेछ । ३०० विज्ञ सहभागी हुने सम्मेलनमा ३० वटा पर्यटनसँग सम्बन्धित विदेशी विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनले नेपालले विभिन्न आर्थिक, राजनीतिक, प्राकृतिक तथा मानवीय कारणले भएका परिवर्तन माझ पुनःस्थापनाका रणनीतिबारे छलफल हुनका साथै दिगो विकासका लागि विश्वव्यापी साझेदारीको अवसर प्रदान गर्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सम्मेलन नेपालमा हुने हुँदा नेपालको पर्यटनलाई विश्वमा प्रवद्र्धन व्यवसायीलाई दिगो पर्यटन विकास तथा उत्थानशीलताका लागि प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन क्षेत्रको विकासका लागि सरकारले नीतिगत सुधार र पूर्वाधार विकासलाई प्राथमिकता दिएको भन्दै उहाँले चुनौतीका रुपमा देखिएको जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि विश्वको ध्यान केन्द्रित गर्न पनि सम्मेलन उपयोगी हुने बताउनुभयो ।

बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले विनाशकारी भूकम्प पश्चात् नेपालको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्केको सन्देश दिन सम्मेलन उपयोगी हुने बताउनुभयो ।

बेलायतको प्रख्यात मिडिया जेकब मिडिया ग्रुपद्वारा सञ्चालित रेजिलियन्स काउन्सिलले ‘रिसाइलेन्स’ तथा पर्यटन क्षेत्रका विज्ञलाई अनुभव आदानप्रदान र क्षमता अभिवृद्धिको अवसर प्रदान गर्ने जनाइएको छ । काउन्सिलका संस्थापक सदस्य तथा मिडियाका ग्रुप विजनेस डेभलप्मेन्ट निर्देशक डेनियला बाग्नरले कार्यक्रम नेपालमा आयोजना गर्न पाएकोमा गर्व लागेको बताउनुभयो ।

विश्व पर्यटन सङ्गठनका पूर्वमहासचिव तलिब राइल र सोही सङ्गठनका एशिया प्यासिफिक क्षेत्रीय निर्देशक छु जिङले दुई ठूला छिमेकी मुलुक चीन र भारतबाट पर्यटनको लाभ लिने गरी उपस्थिति जनाउनुपर्नेमा जोड दिनुभयो । पाटाका प्रमुख कार्यकारी अधिकृत अध्यक्ष म्यारीओ हार्डीले अप्ठ्यारोलाई चिर्दै नेपालले विश्वलाई सकारात्मक सन्देश प्रवाह गर्न सम्मेलन सान्दर्भिक हुने धारणा राख्नुभयो ।

सम्मेलन समापनमा ‘इनटरनेशनल इन्टिच्युट फर पिस थ्रु टुरिजम’ ९आइपिटी०सँगको सहकार्यमा काउन्सिलले आइपिटी अर्वाड आयोजना गर्ने जनाइएको छ । नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान दिएका विभिन्न संस्था, व्यक्तिलाई चार विधामा पुरस्कृत गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्