Logo

सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु



दमास्कस, २ असार । सिरियाको उत्तरपश्चिमी एक गाउँमा विद्रोही लडाकूहरुले आइतबार गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियाली सरकारी समाचार संस्था ९साना० का अनुसार अल–कायदा सम्बद्ध हायात तहरिर अल–शामले उक्त आक्रमण गरेको हो ।

अलेप्पो शहरको दक्षिणमा रहेको अल–वादिही गाउँमा गरिएको क्षेप्यास्त्र आक्रमणबाट अरु १५ जना गाउँले घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

मानव अधिकारका लागि सिरियाली अब्जरभेटरीले पनि गाउँलेहरुको हत्या भएको जनाउँदै आक्रमणबाट पाँच जना बालबालिका पनि मारिएको बताएको छ । अलेप्पोको ग्रामीण इलाकामा लुकेर बसेका विद्रोहीले नै आक्रमण गरेको अब्जरभेटरीले जनाएको छ ।
अलेप्पोसँग सीमा जोडिएको हामा प्रान्तको ग्रामीण इलाकामा पनि सरकारी फौज र विद्रोहीबीच संघर्ष जारी छ । यहाँ शनिबार भएको भिडन्तमा ३५ जना लडाकू मारिएका थिए ।

अलेप्पो, हामा र इडलिब प्रान्तलाई विद्रोही र सरकारी फौजबीच मध्यवर्ती क्षेत्रका रुपमा राख्न रुस, सिरिया र टर्कीबीच गएको सेप्टेम्बर महिनामा सहमति भएको थियो । तर यस सम्झौताको पूर्ण पालना भएको छैन । विद्रोहीहरुले तोकिएको क्षेत्रबाट हातहतियार फिर्ता लैजान अस्वीकार गरेका छन् ।सन् २०११ देखि शुरु भएको सिरियाको गृहयुद्धका कारण तीन लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्