Logo

विप्लवलाई सरकारको चेतावनी-क्षति व्यहोर्न तयार रहनु 



काठमाडौं, १९ असार । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि कडा कारबाहीको संकेत गरेको छ । बिहिबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विप्लवलाई वार्तामा नआए क्षति व्यहोर्न तयार रहन भनेका हुन् ।

‘वार्तामा आउनुहोस् नत्र क्षति होला,’ मन्त्री बास्कोटाले विप्लव समूहलाई कडा शब्दमा भने,‘लुटपाट आतंकवादको धन्दा जारी राखे गम्भीर क्षति व्यहोर्नुपर्छ ।’ लुटपाट र आतंकलाई कुनै हालतमा सहन नसकिने उनको भनाई थियो ।

सरकारले अझ कडा कारबाही गर्न सक्ने चेतावनी दिदै यसअघि भएका इन्काउन्टरका घटनाको बचाऊ गरे । उनले भने,‘त्रास र आतंक मच्चाउनेलाई नियन्त्रणमा लिंदा भएको घटना दमन होइन ।’ सरकारले वार्ताका लागि रातोकार्पेट ओछ्याएको भन्दै जंगली राजलाई छुटदिन नसकिने बताए ।


विप्लव समूहको बाटो संगठित आतंकवाद, सामन्ती फाँसीवाद कुनै दर्शन विचार सँग नजिक नभएको बताए । उनले विप्लवको कदमतर्फ संकेत गर्दै भने,‘त्रास आतंक, नागरिकको मनोबल गिराउने, पतन, घृणित र अक्षम्य बाटो हो ।’

विप्लवले चुनाव लड्न हुत्ति नहुनेले जनतालाई तर्साइरहेको बताए । लुटेर धन कमाउने मनशाय बनाएकाले रक्त पिपाशु मानसिकता नेपाली समाजले मान्न छाडेको बताए । उनले भने,‘कुहिरीमण्डलमा हिंडेर गन्तव्यमा पुगिदैन ।’ तस्वीरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्