‘जन्मदै मुखमा सुनको चम्चा लिएर आएका मन्त्रीहरु भोलीका अर्बपति’


काठमाडौं, वैशाख १ । बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले टिप्पणी गरेका छन्। मन्त्रीहरूको विलासी जीवनशैली र उल्लेख्य सम्पत्ति सार्वजनिक भएलगत्तै उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत युवा मन्त्रीहरूको आर्थिक हैसियतमाथि प्रश्न उठाउँदै व्यङ्ग्य गरेका हुन् ।

पूर्व सचिव उपाध्यायले ४० वर्ष पनि नपुगेका युवा मन्त्रीहरूको सम्पत्ति देखेर आश्चर्य प्रकट गरेका छन् । उनले लेखेका छन्, “अहिले कम उमेरका ४० वर्ष नपुग्दैका युवा कालमै मन्त्रीहरू नै यति धनी? प्रौढ हुँदासम्म त सबै जना अर्बपति हुने भए !”
हालै सार्वजनिक विवरण अनुसार शिक्षामन्त्री सस्मित पोखरेलको २४ करोडभन्दा बढीको सम्पत्ति देखिएको छ भने प्रधानमन्त्री बालेन शाह र उद्योगमन्त्री गौरी कुमारीसँग १८०-१९० तोला सुन रहेको पाइएको छ । धेरैजसो मन्त्रीहरू ३० देखि ४० वर्ष उमेर समूहका छन् ।

मन्त्रीहरूको यो अथाह सम्पत्तिको स्रोत र उनीहरूको भाग्यमाथि कटाक्ष गर्दै उपाध्यायले अगाडि लेखेका छन्, “जन्मदै मुखमा सुनको चम्चा लिएर आएका भाग्यमानी भएपछि !”

सरकारले पारदर्शिताका लागि सम्पत्ति विवरण सार्वजनिक गरे पनि पूर्व सचिव उपाध्याय जस्ता प्रशासनिक विज्ञहरूले भने यति सानो उमेरमा आर्जन भएको ठूलो सम्पत्तिलाई संशयपूर्ण र अस्वाभाविक रूपमा हेरेका छन् ।

Skip This

Omoda E5 Pro