Logo

विदेशी कम्पनी पोस्न वायुसेवा निगममा कमिसनको खेल



साउन ३, काठमाण्डौ । पछिल्लो समय नेपाल वायुसेवा निगमलाई ऋणमा डुबाई विदेशी लगानी भित्र्याउने र त्यस वापत कमिसन खाने गृहकार्य चलिरहेको छ । वाइडवडी जहाजलाई पनि थन्क्याएर घाटाको व्यापार गरी निगमलाई टाट पल्टाउने खेलमा निगमकै उच्च पदस्थ अधिकारी लागि रहेका छन् ।

निगम टाट पल्टेपश्चात विदेशी लगानी भित्र्याउन सहज हुने हुदाँ निगमका अधिकारीहरु यस खेलमा सक्रिय भैरहेका हुन् । नेपाल वायु सेवा निगम विदेशी कम्पनीलाई शेयर दिलाउने योजनामा सक्रिय भैरहेको छ ।

विदेशी लगानीकर्तालाई शेयर लगानीको अवसर प्रदान गर्ने र त्यस वापत कमिसन खाने खेलमा निगमका उच्च पदस्थ अधिकारीहरु सक्रिय रहेका हुन् । यस योजनालाई सफल बनाउन सरकारले विदेशी लगानीकर्तालाई लगानीको अवसर दिनुपर्ने हुन्छ ।

जुन कुरा निगम घाटामा गए पश्चातमात्र सहज हुन्छ । त्यसैले पनि वाइडवडी जस्ता ठुला दुई जहाजलाई नयाँ गन्तव्यमा उडान भर्ने काममा सक्रिय हुनुको साटो निगमका अधिकारीहरु उडान अनुमतिकालागि राम्रो गृहकार्यमा समेत जुट्दैनन् ।

अनुमतिका लागि सक्रिय हुनु त परको कुरा वाइडवडीलाई उडानको अनुमति दिएका मुलुकमा समेत निगमले उडान रोकेर राखेको छ । जापानले वाइडवडी उडानका लागि अनुमति दिएको थियो तर निगमले उडानको मिति सार्वजनिक गरेर पनि स्थगन गरी उडानलाई पछाडी धकेल्यो ।

जापानको अन्तराष्ट्रिय वायु सेवाको कार्यालयले उडानका विभिन्न पक्षहरुबारे प्रश्न उठाउदै विहिबार नै पत्र समेत पठाएको छ । यस पत्रमा उडानकालागि आवश्यक गृहकार्यका समग्र पक्षको जवाफ माग गरेको छ ।

तर जापान उडानलाई पनि निश्चित व्यक्तिको समुहगत स्वार्थकालागि यो या त्यो वाहानामा पछाडी धकेलीयो । निगमलाई टाट पल्टाउन वाइडवडी जाहजलाई नउडाएको यो त एक उदाहरण मात्र हो । निगमकै अधिकारीका अनुसार निगमका जाहज सामान्य मापदण्ड भन्दा दैनिक ६ घण्टा कम उड्ने गर्छन् । यसको सोझो असर निगमको व्यापार घाटासँग हुने निगमका प्रवक्ता गणेशबहादुर चन्द बताउँछन् ।

नेपाल वायुसेवा निगमले हवाई व्यवस्थापन सहि तवरले नहुँदा दैनिक करोड भन्दा माथिको घाटा व्यहोरी रहेको छ । निगमका अधिकारीहरुको हरेक क्षेत्रमा कमिसन हात पार्न चाहाने मानसिक रोगका कारण निगम टाट पल्टिदै गर्दा निगमका प्रवक्ता चन्द भने त्यस्तो कुनै रणनीति नभएको जिकिर गर्न छोड्दैनन् ।

निगमलाई चुर्लुम्मै घाटामा डुवाउदै निहित स्वार्थ पुरा गर्ने रणनीतिमा लागी रहेका निगमका अधिकारीहरुलाई आफ्नो मुठिमा ल्याउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेत असफल भैरहेको छ । निहित व्यक्तिको राजनीतिक शक्ति र पैसामा पहुँचकै कारण निगमका उच्च पदस्थहरु मनपरी गरी रहेको र सरकार मुखदर्शक बनिरहेको आरोप लागि रहेको छ ।



प्रतिक्रिया दिनुहोस्