Logo

वीपीको आदर्श भुल्दै कांग्रेस



साउन ६, काठमाण्डौ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी सोमबार मनाइएको छ ।

लामो इतिहास बोकेको नेपाली कांग्रेस संस्थापक नेता विपी कोइरालाको नाममा राजनीति गर्दै आएको छ । तर अहिलेको पुस्ताले विपीको सिद्धान्त विर्सिएको आरोप लाग्दै आएको छ । कांग्रेसको नेतृत्वले सिद्धान्त र आदर्शलाई भुलेर स्वार्थको राजनीति गरेपछि पार्टी नै कमजोर बन्दै गएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका विपी कोइरालाको योगदान निकै महत्वपूर्ण छ । बिपीको आदर्श, मूल्य र मान्यता अहिले पनि नेपाली कांग्रेसका लागि मात्रै होइन, देशकै लागि सान्दर्भिक रहेको छ ।

तर विपीले जन्माएको नेपाली कांग्रेसले भने विपीको सिद्धान्तको अवहेलाना गर्ने गरेको छ । सोमबार कोइरालाको स्मृति दिवसलाई पनि कांग्रेसले खासै महत्व दिएको पाइएन । फाट्टफुट्ट कार्यक्रम भए पनि नेतृत्वले विपीको सिद्धान्तको बहस नै गरेको पाइएन । अहिलेको नेतृत्व व्यक्तिगत स्वार्थका लागि गुटगट राजनीति चलाउनमै सिमित छ ।

कांग्रेसका संस्थापक नेता केपी गुरुङको भनाईलाई मान्ने हो भने कांग्रेसको अहिलेको पुस्ताले विपीको सिद्धान्तलाई विर्सिएको छ । विपीसँग लामो समय संगतसमेत गरेका गुरुङले सिद्धान्तविपरित जुनसुकै दलसँग पनि सम्झौता गर्ने र सत्ताका लागि मात्रै मरिहत्ते गर्नु विपीको सिद्धान्तविपरित भएको गुरुङको टिप्पणी छ ।

डेड दशकअघिसम्म विपीको सिद्धान्तले महत्व पाए पनि द्धन्द्धरत तत्कालिन नेकपा माओवादीसँग १२ बुँदै सम्झौता गरेसँगै विपीको सिद्धान्तको मर्म मरेको कांग्रेस नेताहरु बताउँछन् । विपीले भन्ने गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद अहिले नारामै सिमित भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

काग्रेस नेता डा रामशरण महतले भने अहिलेको अवस्थामा विपीको बाटोलाई काग्रेसले विर्सन नसक्ने बताएका छन् ।

अहिले पनि कांग्रेस चरम समस्यामा परेको छ । चुनावमा लज्जास्पद हार बेहोरेपछि पनि नेतृत्व सुध्रिन सकेको छैन । आगामी महाधिवेशन पनि समयमा नहुने पक्कापकी जस्तै भएको छ । शीर्ष तहमा गुटगत राजनीतिको लडाई चलिरहेको छ । यसले संस्थापक नेता विपी कोइरालाको सपनामाथि घात भएको टिप्पणी हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्