Logo

माधव, गच्छेदार र विष्णुसँग अख्तियारको बयान !



रिपोर्टर्स नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा देशका प्रभावशाली नेताहरुसँग बयान लिने भएको छ । सरकारको नाममा रहेको बालुवाटारको जग्गा व्यक्तिको नाममा पुर्याउन विभिन्न समयमा भूमिका खेलेकाहरुसँग बयान लिने क्रममा संलग्नताको आरोप लागेका पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदार र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई अख्तियारले बयान लिने तयारी गरेको हो ।

अख्तियार स्रोतका अनुसार नेताहरुसँग बयान लिनैपर्ने अवस्था बनेपछि कसरी र कहाँ लिनेबारे तयारी भइरहेको छ । देशको महत्वपूर्ण पदमा पुगिसकेकाहरुको प्रतिष्ठालाई समेत ख्याल राख्दै अख्तियारले बयान लिने तयारी गरेको छ । अख्तियारलाई सहयोग गर्न तयार रहेको अभिव्यक्ति काँग्रेस उपसभापति गच्छेदारले दिइसकेका छन् । यद्यपि उनले संलग्नता अस्वकिार गरे । माधव कुमार नेपालले पनि संलग्नता अस्वीकार गरिसकेका छन् ।


बालुवाटारको जग्गामा जोडिएका विष्णु पौडेलले पनि विगतमा विज्ञप्ति जारी गरी सरकारी हो भन्ने जानकारी पाएको भए जग्गा खरिद गरिने थिएन भनेका थिए । उनी यस घटनाले निकै विवादमा परे । तर, जग्गावालासँगको बयान लिने क्रममा उनका छोराको नाम सार्वजनिक सूचनामा थिएन ।


बालुवाटारस्थित ललिता निवासको जग्गा पाँच दशकअघि सरकारले मुआब्जा समेत दिई अधिग्रहण गरिलिएको जग्गा व्यक्तिका नाममा पुर्याएको अख्तियारले बयान लिने क्रममा प्राप्त प्रमाणहरुपछि अनुसन्धानलाई अख्तियारले गति दिएको छ । छानविन गर्दै जाँदा देशका शक्तिशाली व्यक्तिहरु पनि बालुवाटार जग्गाकाण्डमा मुछिएका छन् ।

यसअघि अख्तियारले ११ असारमा सूचना जारी गरी ८६ जनालाई बयानका लागि बोलाएको थियो । अख्तियारले ललिता निवास क्याम्पभित्र पर्ने बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंको कमृचारीहरुको मिलेमतोमा गैरकानुनी तकिराले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिहरुलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको उजुरी परेकाले अनुसन्धानका सिलसिलामा केही बुझ्नुपर्ने भन्दै म्याद सूचना प्रकाशित गरेको थियो ।

सात दिनभित्र बयानका लागि आउन भनेपछि पुगेका उनीहरुसँग बयान लिइएको थियो । अख्तियारले बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालका परिवार उमाकुमारी ढकाल्नी र लक्ष्मी ढकाल, रामकुमार सुवेदीकी पत्नी माधवी सुवेदी, व्यवसायी मिनबहादुर गुरुङ्गका छोरा कल्याण गुरुङ्गलगायतसँग बयान लिइसकेको छ । उनीहरुसँगको बयानपछि तत्कालिन समयमा जिम्मेवार कर्मचारीसँग बयान लिइसकेपछि नेताहरुसँग धमाधम बयान लिने तयारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्