Logo

बालुवाटार धाउँदै नेपाल, खनाल र गौतम



साउन ११, काठमाण्डौ । प्रधानमन्त्री केपी ओली आफूलाई मन नपर्ने दल वा व्यक्तिलाई जस्तोसुकै कटाक्ष गर्न पनि पछि पर्दैनन् । प्रधानमन्त्री भएपछि त झन उनको शैलीका कारण धेरै आलोचना खेप्नु परेको छ । तर केही समययता भने ओली लचक देखिएका छन् । यद्यपी उनको शैली कुन बेला बदलिन्छ त्यो भने ठेगान छैन ।

प्रधानमन्त्री केपी ओली शक्तिशाली भए पनि विवाद र आलोचनाले छोडेको छैन । सरकार संचालनमा होस वा पार्टी संचालन, दुवैतिर उनी नेतृत्वमा छन् । तर सरकार संचालनको हकमा प्रतिपक्ष र आफ्नै पार्टीका नेताहरुबाट आलोचित हुने गरेका छन् । पार्टी संचालनका क्रममा पनि आफ्नै दलका नेताहरु रुष्ट भइरहेका छन् ।

यि सबै कुरालाई मध्येनजर गरेर हुन सक्छ, पछिल्लो समय ओली केही नरम बन्न खोजेको देखिन्छ । तर उनको शैली कुन बेला कडा र कुन बेला नरम हुन्छ भन्ने ठेगान पनि हुँदैन । जे होस पछिल्लो एक महिनायता ओलीले पार्टीभित्रका आफ्ना विरोधीलाई पनि नरम व्यवहार गर्न थालेका छन् ।

केही महिना अगाडिसम्म नेकपाका शीर्ष नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलगायतका नेताहरु पार्टीको औपचारिक बैठकबाहेक अन्य प्रयोजनका लागि बालुवाटार जाँदैनथे । गत पुसको स्थायी स्थायी कमिटी बैठकमा यिनै नेताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर चर्को विरोध गरेका थिए । तर अहिले अवस्था फरिएको छ । पछिल्ला दिनमा शीर्ष नेताहरु ओलीलाई भेट्न वालुवाटार जान हिचकिचाउँदैनन् ।

यसका लागि ओलीले नै वातावरण सृजना गरेको प्रमुख प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालको भनाई छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले गएको असार २० र २१ गते संसदीलय दलको बैठक राखेर गुनासाहरु सुनेका थिए । गुनासा सुन्ने क्रममा सरकार र पार्टीको आलोचना पनि सुनेपछि ओलीले आफ्नै दलका सांसदलाई पनि निर्देशन दिएर आफू पनि सच्चिने संकेत दिएको प्रधानमन्त्रीका प्रेस संयोजक डा. कुन्दन अर्याल बताउँछन् ।

प्रधानमन्त्री बनेपछि ओलीमा दम्भ देखिएको थियो । प्रतिपक्ष र आफ्नै दलका नेताहरुलाई चिढ्याउने कामसमेत भयो । अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल तथा नेता बामदेव गौतम ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिदै आएका छन् ।

अहिले भने ओलीले विभिन्न जिम्मेवारी दिएर सबै नेतालाई समदुरीमा राख्न खोजेको संकेत पाइन्छ । यद्यपी दलीय स्वार्थ हाबी हूँदा कुन बेला कस्तो व्यवहार प्रस्तुत हुन्छ, त्यो भने ठेगान छैन ।



प्रतिक्रिया दिनुहोस्