Logo

अख्तियारको आँखा कर्मचारीमाथि, ठूला माछा कसले समात्ने ?



साउन ११, काठमाण्डौ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमाअख्तियारको अनुसन्धानले तिव्र गति लिएको छ ।

छानबिन गर्नेक्रममा एक पछि अर्को गर्दै प्रभावशाली र शक्तिशाली व्यक्तिहरु बालुवाटार जग्गा काण्डमा तानिदै गएका छन् । तर अख्तियारले भने कर्मचारीलाई मात्रै अनुसन्धानको दायारमा ल्याएको छ । शक्तिको पहुँच भएका नेताहरुसँग भने बयान लिन सकेको छैन ।

बालुवाटार जग्गा काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै तत्कालिन प्रमुख आयुक्त दिप कुमार बस्न्यातको संलग्ना पाइएपछि बालुवाटार जग्गा काण्ड थप रहस्यमयी बन्न पुगेको छ । तत्कालिन भूमी सुधार सचिव रहँदा बस्न्यातले सरकारी जग्गा हडप्ने सहयोगीको भूमिका निर्वाह गरेका थिए ।
बस्न्यात निर्माण तथा भौतिक योजना मन्त्रालयको सचिव हुँदैका बखत प्रधानन्यायाधीश निवासले चर्चेको जग्गामध्ये २ रोपनी १४ आना र प्रधानमन्त्री निवासले चर्चेको २ रोपनी १० आना जग्गा समेत नापीको फिल्ड बुकमा पर्ती भनेर जनिएको कुल ३५ रोपनी जग्गामा जबर्जस्ती नक्कली मोही खडा गराउने निर्णय भएको थियो । यसै विषयमा पूर्व प्रमुख आयुक्त बस्न्यातसँग अख्तियारले ८ घण्टा लामो बयान लिइसकेको छ ।

प्रमुख आयुक्तसहित नेकपाका प्रभावशाली नेता माधव कुमार नेपाल, नेपाली काग्रेसका उपसभापति विजयकुमार गच्छेदार र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल तानिएपछि सर्बत्र कारवाहीको माग गर्दै आवाज उठेपछि यसप्रति अख्तियारको ध्यान गएको थियो ।

अख्तियारका प्रवक्ता प्रदिपकुमार कोईराला जग्गा प्रकरणमा दोषी देखिएका सबै जिम्मेवार व्यक्तिको अनुसन्धान भईरहेको र केही समयभित्र विस्तृत विवरण सार्वजनिक गरिने तयारी भईरहेको बताउँछन् ।

२९ चैत ०६६ को मन्त्रिपरिषद् बैठकले नक्कली मोही खडा गरेर बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा सारिएको थियो । उक्त निर्णयका आधारमा करिब १४ रोपनी जग्गा १२ जना नक्कली मोहीका नाममा लगिएको थियो ।

आठ आना जग्गा खरिद गरेका विष्णु पौडेलका छोरा नविन कुमारको नाममा रहेको सार्वजनिक भईरहे पनि जग्गावालासँगको बयान लिनेक्रममा नविनको नाम आएको छैन । यसअघि अख्तियारले ११ असारमा सूचना जारी गरी ८६ जनालाई बयानका लागि बोलाएको थियो ।

यस अघि भूमाफियाहरु शोभाकान्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनी सुपरमार्केटका मिनबहादुर गुरुङका छोरा कल्याण गुरुङ र मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरुलाई बोलाएर बयान लिइसकेको छ । जग्गा प्रकरण कहाँ गएर टुंगिन्छ र दोषी को को देखिनेछन् र कारवाही कस्तो हुनेछ त्यो भने अख्तियारको अनुसन्धान पछि नै थाहा हुने छ ।



प्रतिक्रिया दिनुहोस्