Logo

ओलीलाई पार्टीभित्र पूर्व प्रधानमन्त्री/उपप्रधानमन्त्री मिलाउन सकस



समाचार विश्लेषण । नेपाल कम्युनिष्ट पार्टीभित्र बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन पूर्व प्रधानमन्त्रीहरु छन् । उपप्रधानमन्त्रीहरुको संख्या योभन्दा धेरै छ ।

दुई ठूला कम्युनिष्ट पार्टी नदी जसरी मिल्दा बनेको नेपाल कम्युनिष्ट पार्टी सागर बनेको छ । तर, सागरको व्यवस्थापन जटिल बनेको छ । नेकपाभित्र सरकारको उच्च पदमा पुगिसकेकाहरुको व्यवस्थापन निकै कठिन बन्नुको मुख्य कारण विगतमा शक्तिको अभ्यास गरिसकेका तर सन्यास नलिएकाहरु भएकाले पनि हो ।

तत्कालिन नेकपा एमालेमा नेतृत्व विकासमा ढिलाई र नयाँ पुस्ताले अवसर नपाएको अवस्थालाई दृष्टिगत गरी उमेरहद राखिएको थियो । जुन पार्टी एकीकरणपछि विधानबाट हटाइयो । नत्र झलनाथ खनाल, वामदेव गौतम, अमिक शेरचन जस्ता नेताहरु राजनीतिबाट सन्यास लिनुपर्ने वाध्यकारी अवस्था बनिसक्थ्यो ।
अहिले पूर्व प्रधानमन्त्रीमध्ये प्रचण्ड अध्यक्षकै पदमा छन् । पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको जिम्मेवारीमा छन् । सचिवालयमा उपप्रधानमन्त्री भइसकेकाहरुले स्थान पाएनन् । बहालवाला उपप्रधानमन्त्री इश्वर पोखरेल र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ मात्र सचिवालयमा छन् ।

पूर्व उपप्रधानमन्त्रीहरु भीम रावल, अमिक शेरचन र टोपबहादुर रायमाझी सचिवालयको जिम्मेवारीमा छैनन् । यसले उनीहरु बेला बेलामा असन्तुष्टि पोखिरहन्छन् । भीम रावल ओलीका कट्टर आलोचकका रुपमा देखिदै आएका छन् ।

नेकपाभित्र चारजना प्रधानमन्त्री भइसकेका नेता हुनु र त्योभन्दा बढी संख्यामा उपप्रधानमन्त्री भइसकेकाहरु हुनुले पार्टीको महत्वपूर्ण विभागहरुको बाँडफाँडमा समस्या देखिएको छ । माधवकुमार नेपाल र झलनाथ खनालको महत्वपूर्ण विभागको दाबी छ । नेपालले विदेश विभाग र खनालले स्कुल विभाग दाबी गरिरहेका छन् । यसमा नारायणकाजी श्रेष्ठलगायतका नेताहरुको पनि दाबी छ ।

संगठन विभागमा वामदेव गौतम र इश्वर पोखरेलको दाबी छ । महासचिव विष्णु पौडेल पनि दाबेदार हुन् । अन्य विभागहरुको छिनोफानो गरिसकिएको भनिएपनि मिलाउन सहज छैन ।

धेरैजना समकालिन र समान शक्तिका नेताहरु हुनाले नेकपाभित्र नेतृत्व देखि महत्वपूर्ण पदहरुमा दाबेदारको संख्या बढेको हो । ओलीका लागि आफ्ना समकालिन र लामो संघर्ष गरेर स्थापित नेताहरुलाई वाइपास गरेर जान कठिन मात्र होइन चुनौतीपूर्ण छ । यसो गरेमा उनका लागि पार्टीभित्र र बाहिर समेत घेराबन्दी बढ्न सक्छ । पद नपाएमा कडा कदम चाल्ने अघाषित चेतावनी केही प्रभावशाली नेताहरुले दिइसकेका छन् । यसले पनि नेकपाभित्रको एकता प्रक्रिया टुंगिएर पद बाँडफाँडमा कठिनाई भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्