Logo

वामदेवलाई उम्मेदवार बन्न ओलीको प्रस्ताव



काठमाडौं । कास्की क्षेत्र नम्बर-२ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि कात्तिकमा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतमलाई उम्मेदवार बन्न दबाब बढेको छ । गौतमलाई पार्टीका शिर्ष नेताहरुले नै उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई उम्मेदवार बन्न भनिसकेका छन् । अर्का अध्यक्ष प्रचण्ड पनि गौतमलाई उम्मेदवार बनाउनुपर्ने पक्षमा छन् । रिपोर्टर्स नेपालका लागि ऋषि धमलासँग कुरा गर्दै गौतमले आफूलाई पार्टीभित्रबाट उम्मेदवार बन्न आग्रह भइरहेपनि निर्णय लिइनसकेको बताए । उनले भने, चुनाव लड्न भनेपनि मैंले निर्णय लिएको छैन ।
बदिर्याबाट गएको संसदीय चुनावमा नेपाली काँग्रेसका सञ्जय गौतमसँग पराजित भएपछि गौतम अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट भएका थिए । पछिल्लो समय पार्टीभित्र महत्वपूर्ण शक्ति रहेका गौतमलाई साथमा लिन ओलीले कास्की २ बाट उम्मेदवार बनाउन खोजेको विश्लेषण भइरहेको छ ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि कास्की-२ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ । उक्त स्थानमा रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई चुनाव उठाउने चर्चा चल्दै आएको छ ।

निर्वाचन आयोगले तीन तहका सबै खाली सिटहरुमा १३ कात्तिकमा निर्वाचन गर्ने तय गरिसकेको छ । खाली सिटहरुमा उम्मेदवार बन्न सक्रियता बढिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्