Logo

योगेशले ल्याए नेपालमै पाइलट पढाउने योजना



साउन २२, काठमाण्डौ । नेपालको नागरिक उड्डयन क्षेत्र अस्तव्यस्त छ । नेपाल वायु सेवा निगमले न पार्यप्त जहाज खरिद गर्न सक्छ, न भएको जहाज उडाउन नै सक्छ ।

सधैँभरी कमिसन र भ्रष्टाचारले यो क्षेत्र कमजोर मात्रै होइन, बदनामसमेत हुँदै आएको छ । पहिलो पटक मन्त्री बनेका योगेश भट्टराईले उड्डयन क्षेत्र सुधारका लागि विभिन्न योजना ल्याउनुभएको छ ।

पर्यटन, रेमिट्यान्स र वैदेशिक अनुदान देशको अर्थतन्त्रका प्रमुख स्रोत हुन् । तर, यी क्षेत्रले पनि बढ्दो निर्यात घाटा धान्न सकेका छैनन् । देशको अर्थतन्त्र घाटामा छ । अर्थतन्त्र सुधारमा सबैभन्दा बलियो पक्ष पर्यटनलाई मानिएको छ ।

तर, २०६२–६३ पछि बनेका सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले पर्यटन क्षेत्रमा खासै सुधार ल्याउन सकेका छैनन् । कतिपय मन्त्री विवादमा परेसँगै पूरा कार्यकाल काम गर्न पाएनन् ।

विमानदेखि विमानस्थलसम्म अलपत्र हुँदा उड्डयन क्षेत्र अस्तव्यस्त छ । यसैबीच नवनियुक्त पर्यटनमन्त्री भट्टराईले निगमको समस्या पहिचान गरी सुधारका उपाय दिन कार्यदल गठन गर्नुभएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिबेदन बुझाउन समय दिइएको छ । मन्त्री भट्टराइले निगममाथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

संचालन भइरहेका र बन्दै गरेका सबै विमानस्थललाई पनि उहाँले प्राथमिकतामा राख्नुभएको छ । त्यस्तै मन्त्री भट्टराईले तोकिएको समयमा प्राप्त जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी पनि दिनुभयो ।

मन्त्री भट्टराईले फ्लाईङ स्कुल अर्थात् उडड्यन विद्यालय स्थापना गर्ने योजना पनि सार्वजनिक गर्नु भएको छ । देशभित्रै पाईलट उत्पादन गर्न र उनीहरुलाई तालीम दिने योजना उहाँको छ ।

जनस्तरबाट राम्रो कामको अपेक्षा अपेक्षा गरिएका युवामन्त्री भट्टराईको नेतृत्वमा पर्यटन क्षेत्रको सुधार हुने अपेक्षा धेरैले गरेका छन् । सुरुवाती चरणमा उहाँले गरेका प्रयास पनि सकारात्मक छन् । कार्यान्वयनको पाटो कति सफल हुन्छ, त्यो भने समयले नै देखाउला ।।



प्रतिक्रिया दिनुहोस्