Logo

कांग्रेस आईको अध्यक्षमा सोनिया गान्धी



नयाँ दिल्ली, २५ साउन । भारतीय कांग्रेस आईको अध्यक्ष चुन्नको लागि आज शनिबार बसेको कार्यसमिति बैठकले सोनिया गान्धीलाई पार्टीको अन्तरिम अध्यक्ष चुनेको छ । पार्टी अध्यक्ष चुन्नको लागि आज बसेको बैठकले गान्धीलाई अन्तरिम अध्यक्ष चुनेको  हो । अध्यक्ष पदबाट राहुल गान्धीले दिएको राजीनामा पनि आज स्विकृत भएको छ । आजको बैठकमा कश्मिर मुद्दामा पनि चर्चा भएको बुझिएको छ ।

अध्यक्ष चुन्नको लागि बसेको कार्यसमिति बैठकको बीचमा जम्मु कश्मिरको केही ईलाकामा हिंसा भएको र केही मानिसको मृत्यु भएको खबर आएकोले उक्त विषयमा पनि छलफल भएको पूर्व अध्यक्ष राहुल गान्धीले बिबिसी हिन्दीलाई जानकारी दिएका छन् । गान्धीले जम्मु कश्मिरको अहिले कस्तो हालत छ ? भनेर देशको प्रधानमन्त्री र खासगरी सरकारले पारदर्शीताका साथ देश र जनतालाई भन्नुपर्ने पनि माग गरे ।

गएको लोकसभा चुनावमा हार व्यहोरेपछि नैतिकताका आधारमा राहुलले राजीनामा दिएका थिए । उनले परिवारको विरासत समेत सम्हाल्न नसकेको भन्दै आलोचना भएको थियो । सोनिया गान्धीले छोराका लागि अध्यक्ष पद त्यागेपनि राहुलले राजनीतिमा करिश्मा देखाउन सकेनन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सामु निकै कमजोर सावित भए ।

यसअघि कँग्रेस आईको नयाँ अध्यक्षका लागि मुकुल वस्निक र मल्लिकार्जुन खर्गे दाबेदार थिए । दुवै गान्धी परिवारका विश्वासपात्र हुन् । वस्निक र खर्गेमध्ये एक अध्यक्ष भएको भए दुई दशकपछि यँग्रेस आईको अध्यक्ष गान्धी परिवारका सदस्यबाहेकबाट हुनेथियो । तर, सोनिया कँग्रेस आईको अध्यक्ष बनेपछि गान्धी परिवारकै हातमा कँग्रेसको बागडोर सरेको छ ।

यसअघि राहुल गान्धीलाई सोनियाले नै अध्यक्ष पद हस्तान्तरण गरेकी थिइन् । राजनीतिक इतिहासमा अधिकांश समय गान्धी परिवारले नेतृत्व लिदै आएको छ । जवाहरलाल नेहरु देखि इन्दिरा गान्धी, राजीव गान्धी, सोनिया गान्धी हुँदै राहुल गान्धी अध्यक्ष भएका छन् । गान्धी परिवारको दबदबाका कारण भाजपाले परिवारवाद भएको दल भनी आरोप लगाउने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्