Logo

डेङ्गुको प्रकोप बढ्दै, नियन्त्रणका लागि ८ करोड स्वाहा



साउन २७, काठमाण्डौ । कतिलाई थाहा नहुन सक्छ कि नेपालमा प्राणघातक मानिने डेंगु रोग फैलिइरहेको छ । अत्याधिक जनसंख्या रहेको काठमाण्डौमा पनि डेंगुको खतरा बढ्दै गएको छ । रोग नियन्त्रणका लागि खर्च भएको सरकारी बजेट भने बालुवामा पानी हालेजस्तै भएको छ ।

सन २००४ मा नेपाल आएका एक विदेशी नागरिकमा पहिलोपटक डेंगु देखिएको थियो । त्यसपछिका वर्षमा एकपछि अर्को गर्दै विभिन्न जिल्लामा डेंगु सक्रमण बढ्दै गएको छ ।

सरकारले डेंगु रोग नियन्त्रणका लागि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि १ करोड २० लाख, ७ वटा प्रदेशहरुमा ४ करोड ८३ लाख र स्थानीय तहहरुमा १ करोड ९० लाख गरी कूल ७ करोड ९३ लाख बजेट खर्च गरिसकेको छ । तर संक्रमण रोकिएको छैन ।

रोग नियन्त्रणका लागि खर्च भएको सरकारी बजेट बालुवामा पानी हालेजस्तै भएको निर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर विवेकलाल कर्ण बताउँछन् ।

सरकारले रोगको प्रकोप देखिन सक्ने समय आउनु अघि नै नियन्त्रणको प्रयास गरेको पाइदैन । जब मानिस डेंगु लागेर अस्पताल भर्ना हुन थाल्छन् अनि मात्रै सरकारको आँखा खुल्छ ।

काठमाण्डौमा मात्रै दैनिक ६ देखि ७ जना विरामीमा डेंगुको संक्रमण देखिने गरेको छ । डेंगुको संक्रमणबारे सर्वसाधारणले अस्पताल गएपछि मात्रै थाहा पाउने गरेका छन् ।

महाशाखाको ६ वर्षयताको तथ्यांक हेर्दा डेंगु झनै बढ्दै गएको देखिएको छ । तथ्यांकको अनुसार आर्थिक वर्ष २०७०–७१ मा ३ सय ४ जनामा डेंगु संक्रमण देखिएको थियो । २०७१–७२ मा बिरामीको संख्या घटेको थियो ।

तर २०७२–७३ मा फेरी डेंगुका बिरामीको संख्या बढेर १ हजार ५ सय २७ पुग्यो । त्यसपछि २०७३–७४ मा झन बढेर २ हजार १ सय ११ जना पुगेको थियो ।

२०७४–७५ मा भने अघिल्लो वर्षको तुलनामा केही घटेर संख्या ८ सय ११ जनामा सिमित भयो । तर आर्थिक वर्ष २०७५–७६ मा डेंगुका बिरामी झन बढेर ३ हजार ४ सय २४ जना पुग्यो । यसरी तथ्याङ्कलाई मात्र विश्लेषण गर्ने हो भने पनि सरकारले डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आवश्यक देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्