Logo

अख्तियारले डामेकाहरुः कोही छाति फुलाउँदै कोही आत्महत्या गर्दै



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचारका अभियुक्तहरुलाई कमैमात्र पक्राउ गर्ने गरेको छ । कुनैबेला लोकमान सिंह कार्की प्रमुख आयुक्त हुँदा ठूलो परिमाणको भ्रष्टाचार गर्नेलाई ठूला माछा भन्ने गर्थे । अहिले ठूला माछाहरु भ्रष्टाचारको अभियोगमा जेल जानुपरेपनि छाति फुलाएर जाने गरेका छन् ।

नेपाल प्रहरीका अधिकांश पूर्व आइजीपीहरुलाई अख्तियारले डाम्यो । कतिपय दोषी ठहर भई जेल बसे त कतिपय अदालतले सफाई दिएपछि आरामको जीवन बिताइरहेका छन् । अच्युतकृष्ण खरेल सफाई पाउनेमा पर्दछन् । ओमविक्रम राणा देखि रमेश चन्द ठकुरीसम्म करोडौंको सुडान घोटाला काण्डमा दोषी ठहर भई जेल बसे ।

जेल बस्नेमा पूर्वमन्त्री चिरञ्जीवी वाग्ले, जयप्रसाद गुप्ता, खुमबहादुर खड्कालगायत छन् । खड्काको निधन भइसकेको छ । बाँकी राजनीतिबाट किनारा लागिसके बराबर छ ।
अहिले देशमा ठूलो भ्रष्टाचार भइरहेको खुलस्त छ । तर, शक्तिका भरमा अनियमितता गर्नेहरु सायदै कारबाहीमा पर्छन् । ललिता निवासको जग्गा काण्डमा उच्च ओहदाका व्यक्ति देखि शक्तिशाली नेतासम्मको नाम मुछियो । तर, मालपोतका खरदार र सुब्बाहरु बढी दबाबमा परे । पूर्व प्रधानमन्त्रीहरु देखि पूर्वमन्त्री र सचिवका अलावा अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातसमेत मुछिएको ललिता निवासमा मुछिएका एकजना सुब्बाले लोकलाजले आत्महत्या गरे ।

सेवानिवृत्तपछि स्थानीय राजनीतिमा लागेका पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठले दुई हप्ता अगाडि काठमाडौंमा आत्महत्या गरेका थिए । बालाजुको माछापोखरीस्थित सपिङ सेन्टरको आठौं तलाबाट हामफालेका थिए । ललिता निवासको जग्गा व्यक्तिको नाममा लाँदा उनी सुब्बा थिए ।

भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेका नायब सुब्बा हरि आचार्य जङ्गलमा झुण्डिएको अवस्थामा भेटिए । उदयपुर घर भएका उनले सुसाइड नोटसहित आत्महत्या गरेका हुन् । आफूले एक पैसा नखाएको भन्दै अख्तियारका प्रमुख आयुक्त नविन घिमिरेको आयु दुई सय वर्ष होस् भनी सुसाइड नोट लेखेको फेला परेको छ ।

ठूलो परिमाणमा भ्रष्टाचार गर्ने उम्कने र पक्राउ परेपनि छाति फुलाएर हिंड्ने र साना भ्रष्टाचारीहरु आत्महत्याको अवस्थामा पुग्नुले गम्भीर प्रश्न उब्जाएको छ । सानो गरेपनि ठूलो गरेपनि भ्रष्टाचार नै हो । तर, देशमा ठूलाको बोलवाला हुँदा साना आत्महत्याको अवस्थामा पुग्नु गम्भरि विषय हो ।



प्रतिक्रिया दिनुहोस्