Logo

कृषि विकास बैंकबाट कृषकमाथि ठगी



रिपोर्टर्स नेपाल खोज । कृषकको हितमा ऋण प्रवाह गर्ने कृषि बैंकले नै कृषक ठगी गर्यो भन्दा आश्चर्य लाग्दा । तर, कृषि विकास बैंकले ऋणी कृषकमाथि ठगी गरेको छ । उसले पेनाल ब्याज नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनविपरित लिएर ठगी गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी जारी भएको निर्देशनमा बुँदा नम्बर ८ को ब्याजदर सम्बन्धमा कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशतभन्दा बढी नहुने गरी उल्लेख हुनुपर्ने भनिएको छ । निर्देशनमा भनिएको छ, पेनाल ब्याज गणना गर्दा नाघेको किस्ता रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिको लागि कायम हुन आउने रकम भन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न पाइने छैन । तर, कृषि विकास बैंकले निर्देशन विपरित पेनाल ब्याज असुलेको तथ्य रिपोर्टर्स नेपालले फेला पारेको छ । उसले ९ प्रतिशतसम्म पेनाल ब्याज लिएर कानुनविपरितको कार्य गरेको भेटिएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बढी पेनाल ब्याज लिएर कृषि विकास बैंकले कृषक ठगी गरिरहेपछि उजूरी परेको छ । बैंकले कृषकहरुलाई ऋणको साधारण ब्याजमा पेनाल ब्याज ९ प्रतिशतसम्म बढी ब्याज लिई ठगी गरिरहेको आरोपसहित नेपाल राष्ट्र बैंकमा उजूरी पुगेपछि यसबारे निर्देशन जारी भइसकेको छ ।

गर्भुबाबा भैंसी फार्मका प्रोपाइटर समेत रहेका रामकलेश्वर राय यादवले उजूरी गरेपछि राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा नियमभन्दा बढी पेनल लिएको भए फिर्ता गर्न पत्राचार भएको छ । २९ साउनमा राष्ट्र बैंकले पत्र लेख्दै पेनल लिएको फिर्ता भए नभएको प्रगति विवरण समेत पेश गर्न भनिएको छ ।

सर्लाहीको मलंगवा घर भएका यादवले राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाललाई पत्र लेख्दै ब्याजमा ठगी गरिरहेको उजूरी गरेका थिए । १३ साउनको उजूरीमाथि राष्ट्र बैंकको छानविन समिति बसेर कृषि विकास बैंकलाई निर्देशन दिएको थियो ।

फार्मका संचालक यादवका अन्सार साधारण ब्याजमा ९ प्रतिशत सम्म ब्याज लिएर ठगी गरिरहेको बताए । ब्याजको असुली पूर्जामा साधारण ब्याज ९ प्रतिशत रहेको र पेनाल ब्याज गरी १८.५ प्रतिशत लिइएको छ । आफूमाथि अन्याय परेको भन्दै यादव विगत एक वर्षदेखि कागजपत्र बोकेर कृषि विकास बैंकका हाकिम देखि राष्ट्र बैंकका अधिकारीहरुको ढोका ढकढकाउन पुगेका थिए ।

नेपाल राष्ट्र बैंकको नियमानुसार कुनै पनि बैंकले कर्जा लगानी गर्दा ग्राहकसँग पेनाल ब्याज २ प्रतिशत या ३ प्रतिशत मात्र हुनुपर्नेमा कृषि विकास बैंक लिमिटेडले ८ प्रतिशत पेनाल ब्याज भाका नाघेको साँवा अथवा किस्ता कर्जामा ब्याज असुल गरिरहेको छ । पीडित यादवले भाका नाघेको किस्तामा ८ प्रतिशत पेनाल ब्याज लगाएको र नबुझाउनेलाई पीडामा पारेको आरोप लगाए ।

आफूलाई पीडामा पारिएको भन्दै रामकलेश्वर यादव, सत्तारुढ नेकपाको सुकेधारास्थित कार्यालय, कृषि विकास बैंक, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, कृषि मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म उजूरीका लागि पुगेका थिए । उनले महिनौंसम्म सिंहदरबार र त्यस वरपरका कार्यालयमा पुगेर न्यायका लागि संघर्ष गरे । उनको आवाजको सुनुवाई अझै हुन सकेको छैन । पत्र तयार भएको छ तर कार्यान्वयन हुनसकेको छैन ।

कृषि विकास बैंकले बढी पेनाल ब्याज लिएको देखिएकाले नेपाल राष्ट्र बैंकले उसलाई कारबाही गर्न सक्छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार इजाजतपत्रप्राप्त संस्थाले ब्याजदर सम्बन्धी निर्देशनको पालना नगरेमा कारबाही गर्न सकिने व्यवस्था छ । कृषकको भरोसाको संस्थाले नै पेनाल ब्याज नियमविपरित लिनुले वित्तिय क्षेत्रमा हुनेगरेको मनोमानी र गरिखाने वर्गप्रतिको अन्याय उजागर भएको छ ।

यसबारे कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलसँग सोध्दा विगतमा नियम नै यस्तो भएकोमा राष्ट्र बैंकको पत्राचारपछि सच्याइएको बताए । उनले भने, ‘नियमनै यस्तो थियो सच्याइएको भनेर राष्ट्र बैंकलाई जानकारीपत्र पठाइसकेका छौं ।’ एकजना कृषक अन्यायमा परेपछि न्याय पाउन यो हदसम्मको दुःख पाउनुपर्ने हो भनी सोध्दा उनले सच्याइसकिएको विषय भएको बताए ।



प्रतिक्रिया दिनुहोस्