Logo

कांग्रेस नेताहरुले यसरी सम्झिए विपी कोइरालालाई



काठमाडौं, २४ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सच्चा राष्ट्रवादी नेता भएको बताइएको छ ।

जननायक विपी कोइरालाको १०६औँ जन्मजयन्ती तथा काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ९क०ले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्व कोइराला राष्ट्रप्रेमी नेता भएको बताइएको हो ।

कार्यक्रममा पूर्वमन्त्री एवं काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले विपी कोइराला राष्ट्रवादी व्यक्तित्व भएको बताए । “मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाबाट देशले पाठ सिक्नुपर्छ”, उनले भने ।

पूर्वरक्षामन्त्री प्रधानले सरकारको कार्यशैलीप्रति नेपाली जनतामा निराशा छाएको बताए। दुईतिहाइको सरकारले जनताको इच्छा र चाहनाबमोजिम काम गर्न नसकेको उल्लेख गर्दै उनले नेपाली काङ्ग्रेसभित्र जनतामा भन्दा पनि नेतामा जागरण अभियान आवश्यक रहेको बताए ।

काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जिल्ला, प्रदेश र वडामा पार्टीको सङ्गठनलाई ऊर्जाशील बनाउन जागरण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । “कार्यकर्ता नेतासँग भन्दा पनि नेता कार्यकर्तासम्म पुग्ने वातावरण निर्माण नगरेसम्म काङ्ग्रेस बलियो हुन सक्दैन”, उनले भने ।

पार्टीको तर्फबाट जागरण अभियानमा खटिनुभएका केन्द्रीय प्रतिनिधि दयाराम पाण्डेले वडा र गाउँमा काङ्ग्रेस बलियो नभइकन केन्द्रमा बलियो हुन नसक्ने बताए । काङ्ग्रेसको सिङ्गो सङ्गठनलाई बलियो बनाउन जागरण अभियानले सहयोग पुग्ने उनको भनाइ थियो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले विपी कोइराला महान् राजनीतिक व्यक्तित्व भएकाले विपी कोइरालालाई सिङ्गो देशले सम्झनुपर्ने बताईन्। नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ९क० का सभापति ख्यामराज तिवारी, काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ का सचिव गणेश रिजाललगायतले विपी कोइरालालाई एक दिनमात्र सम्झना गरेर नपुग्ने धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्