Logo

ओली-मोदीबाट संयुक्त रुपमा नेपाल-भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन (तस्विरसहित)



काठमाडौं, २४ भदौ । नेपाल र भारतका प्रधानमन्त्रीद्धय केपी शर्मा ओली र नरेन्द्र मोदीले आज संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन् ।  प्रधानमन्त्री ओलीले काठमाडौंस्थित् सिंहदरबार र भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाट स्विच थिचेर पाइपलाइनको उदघाटन गरेका हुन् ।

  

उदघाटन कार्यक्रमका लागि अहिले दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिएका छन् । अहिले मोदीले सम्बोधन गरिरहेका छन् ।पेट्रोलियम पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताए । नेपालको विकासमा सहयोग गर्न पाउँदा भारत निकै खुशी रहेको मोदीको प्रतिक्रिया रहेको छ ।

पछिल्लो पाँच वर्ष यता नेपाल र भारत दुवै देशले महत्वपूर्ण द्धिपक्षीय परियोजनाहरु पूरा गरेको पनि मोदीले उल्लेख गरे । उनले अन्य सुरुवातको लागि पनि छिट्टै परीणाम हाँसिल हुने विश्वास दिलाए । पछिल्लो वर्ष आफूहरुले संयुक्त रुपमा पशुपतिनाथ धर्मशाला र आईसिपी वीरगञ्जको उद्धघाट्न गरेको पनि सुनाए ।

बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरेका हुन्।

नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको समुद्घाटन गरे । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो ।

पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९।२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६।२ र भारततर्फ ३३ किलोमिटर रहेको छ ।

पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ ।

पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी लागतको न्यूनीकरणले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यसमेत घटेको छ । आजै मध्याह्नदेखि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ ।

परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगञ्जमा रहेको छ । निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो ।

सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो । सो परियोजना निर्माणमा नेपाल र भारत सरकारले अत्यन्त चासो व्यक्त गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा पाइप लाइन परियोजनाको शिलान्यास गर्नुभएको थियो । परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ रहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सो कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, विभिन्न मन्त्रालयका सचिवलगायत नेपाल सरकरका उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्