Logo

थारु पत्रकार संघमा शान्ता चौधरीको हस्तक्षेप, महाधिवेशन विवादमा



चितवन । नेकपाकी सचेतक शान्ता चौधरीले आफ्ना पिएलाई अध्यक्ष बनाउन अवैधानिक हस्तक्षेप गरेपछि थारु पत्रकार संघको चौथो महाधिवेशन विवादमा परेको छ ।

चितवनको सौराहमा हुन लागेको चौथो महाधिवेशनमा पत्रकारिता छोडेर सचेतक चौधरीको पिए बनेका सन्तोष दहितलाई अध्यक्ष बनाउनका लागि संस्थाको विधानविपरीत सल्लाहकारहरुले एकलौटी ढंगबाट केन्द्रीय पदाधिकारी चयन गरेका छन् ।

सचेतक चौधरीको डिजाइनमा महासचिवको प्रतिवेदन कोषाध्यक्षको प्रतिवेदन केन्द्रीय समितिबाट पास गर्न समेत नदिइ महाधिवेशन गराएका थिए । सचेतक चौधरीको निर्देशनमा थारु पत्रकार संघको केन्द्रीय समिति समेत बस्न नदिएपछि महासचिव किशोर चौधरी, कोषाध्यक्ष प्रतिमा चौधरीका साथै चार केन्द्रीय सदस्यहरु सहदेव चौधरी, कुलदीप चौधरी, लक्ष्मी चौधरी र सीताराम चौधरीसहित ६ जिल्ला शाखाले महाधिवेशन विधानविपरीत गर्न नहुने भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेर महाधिवेशन बहिष्कार गरेका छन्।

संघको चौथो महाधिवेशनमा शान्ता चौधरीका पिए सन्तोष र एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार किशोर चौधरी अध्यक्षका आकाँक्षी थिए । विधानसम्मत महाधिवेशन गराउदा पत्रकारिता छोडिसकेका सन्तोष अध्यक्ष नबन्ने भएपछि संघका पूर्व अध्यक्ष लक्की चौधरीलाई प्रयोग गरेर नेकपा सचेतक चौधरीले दाङ, कैलालीबाट अवैधानिक तबरले प्रतिनीधि थप गरेर महाधिवेशन गराउन लागेपछि संघका महासचिव किशोर चौधरी सहितको टोलीले महाधिवेशन बहिष्कार गरेका थिए ।

नेकपाका सचेतक चौधरी सहित अन्य नेकपाका सांसदहरुले समेत चलखेल गरेर जबरजस्ती शान्ताका पिए सन्तोषलाई अध्यक्ष घोषणा गरेपछि नेकपाको आस्था राख्ने धरै थारु पत्रकारहरु गैर पत्रकारलाई जबरजस्ती अध्यक्ष बनाइएकोमा असंतुष्टी जनाएका छन् ।

नेकपाका सांसदहरुको जोरजर्वजस्तीका कारण दाङ, कैलाली, कञ्चनपुरलाई मात्र समेटेर सन्तोष दहितको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएपछि महासचिव किशोर चौधरीको समुहमा रहेका क्रियाशील पत्रकारहरुले अर्को नयाँ संस्था बनाउने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्