Logo

बिमानस्थल विस्तार गर्न ब्यारेक सारिने



चितवन, भदौ २९ । भरतपुर विमानस्थल विस्तारका लागि विमानस्थल आडैमा रहेको नेपाली सेनाको कालिबहादुर गण र घोडा प्रजनन् केन्द्रलाई स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ।

विमानस्थलको अवस्था अत्यन्त जोखिमपूर्ण रहेकाले विस्तार र स्तरोन्नति गर्नुपरेको भरतपुर नगरपालिकाले जनाएको छ। चौबिसकोठीबाट पश्चिम जानेबाटो विमानस्थल र सेनाको गणको बीचमा रहेको छ।

बाटोदेखि दक्षिणमा विमानस्थल र उत्तरमा गण र प्रजनन् केन्द्र रहेको छ। महानगरको आवश्यकता र पर्यटकीय गतिविधि अग्रस्थानमा पर्ने भएकाले तत्काल विमानस्थल विस्तार र स्तरोन्नति गर्नु आवश्यक रहेको महानगरकी मेयर रेणु दाहाल बताउँछिन्।

भरतपुर महानगरमा दुईवटा विमानस्थल रहेका छन्। एउटा भरतपुरको चौबिसकोठीमा भरतपुर र मेघौलीमा मेघौली विमानस्थल रहेको छ। नियमित सञ्चालनमा नरहेको मेघौली विमानस्थल तत्काल स्तरोन्नति गर्ने सम्भावना नरहेकाले भरतपुरलाई स्तरोन्नति गर्नु अत्यावश्यक रहेको मेयर दाहालले बताइन्।

‘विमानस्थल ६२ बिघामा रहेको छ, अहिले ४२ सिटे जहाजमा मात्र सीमित भएको छ,’ उनले भनिन्, ‘रात्रिकालीन सेवा पनि सञ्चालन भएको छैन, त्यसका लागि विस्तार गरिनु जरुरी छ।’

विमानस्थलको रन वे अहिले एक हजार दुई सय मिटर लामो रहेको छ। विमानस्थाल अहिलेको सेनाको गण र प्रजनन् केन्द्रमा विस्तार गरिँदा करिब ६ सय मिटरसम्म रन वे थप गर्न सकिने सम्भावना रहेको उनले औंल्याइन्।

विमानस्थल विस्तारका लागि मेयर दाहाल, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराई, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय तथा प्रदेशका सदस्य र जिल्लाका स्थानीय सरकारका प्रमुख, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाको सहभागितामा भदौ १८ गते भरतपुरमा बैठक समेत बसेको थियो।

बैठकले विमानस्थलबारे गरिएका विभिन्न अध्ययन प्रतिवेदन एवं प्राविधिकको प्रस्तुतीबाट जोखिमपूर्ण रहेकाले विस्तार गर्नुपर्ने आवश्यकता र सुझाव औल्याइएको भन्दै स्तरोन्नति गर्ने निर्णय गरेको थियो।

बैठकले विमानस्थल विस्तारका लागि कालिबहादुर गण र घोडा प्रजनन् केन्द्रलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। स्थानान्तरणका लागि आवश्यक जग्गा महानगरपालिकाले व्यवस्थापन र समन्वय गर्ने निर्णय भएको छ। बैठकले गण र प्रजनन् केन्द्रका लागि तीन स्थानको विकल्प अघि सारेको छ।

जसमा गणेस्थान नजिकको नेपाली सेनाको फाइरिङ हुने गरेको स्थान, नेपाल ट्रस्टको दियालो बंगला रहेको जग्गा, ठिमुरास्थित नारायणी किनारको सार्वजनिक जग्गा रहेका छन्।

वन क्षेत्र रहेको पश्चिम गणेशस्थानदेखि उत्तर पानी ट्यांकीसम्मको आवश्यकता अनुसारको जग्गा, नेपाल ट्रस्टको ३२ बिघा र ठिमुराको ५८।५ बिघा जग्गा विकल्पको रुपमा अघि सारिएको छ। आजको नागरिक दैनिकमा सविता श्रेष्टले खवर लेखेकी छन् ।



प्रतिक्रिया दिनुहोस्