Logo

नेपालको लगानी क्षेत्रमा जापानको चासो



काठमाडौं, भदौ ३० । जापानका उद्योगी–व्यवसायीले नेपालमा कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भनेर चासो देखाएका छन्।

दुई तिहाइको बलियो सरकार बनेर लगानीको वातावरण बनेको भने पनि गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी बढ्न सकेको छैन। स्वदेशी र विदेशी दुवै लगानीकर्ताको मनोबल उच्च नभएकै बेला जापानी उद्योगी–व्यवसायीले लगानीका क्षेत्रबारे सोधखोज गरेका छन्।

राजधानीमा आइतबार आयोजित ‘नयाँ टेक्नोलोजीको साथ नेपालमा वैदेशिक लगानीको अवधारणा’ विषयक अन्तक्र्रियामा जापानी लगानीकर्ताले यहाँको लगानीको सम्भाव्य क्षेत्रबारे निकै चासो राखे। उनीहरुले लगानी सम्भावनाका क्षेत्र, प्रतिफलको अवस्था, सरकारको नीतिलगायत विषयमा चासो देखाएका थिए।

नेपालमा लगानी गरेपछिको प्रतिफल र त्यसलाई सजिलै लैजान सक्ने वातावरण भए, नभएकामा उनीहरुको विशेष चासो थियो। जापानको जी होल्डिङ लिमिटेडका उद्योगीहरुले लगानीको सम्भाव्यता अध्ययन गर्न आफूहरु इच्छुक भएको बताए।

जापानी उद्योगी टोलीका सदस्यहरुले आफूहरुले जापान र अन्य मुलुकमा गरेको अन्वेषण र प्रविधिबारे जानकारी गराएका थिए। उद्योगीमध्येका एक मासाकी हिराईले आफू नवीकरणीय ऊर्जासँग सम्बन्धित क्षेत्रमा काम गर्न तयार रहेको बताए।

उनले आफूहरु अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको दौडमा मिसिनभन्दा पनि नेपालको विकासमा संवेदनशील भएर लगानी गर्न अगाडि सरेको बताए।

हिराईले विकास गर्दा प्राकृतिक संरचनालाई दखल पु(याउनेभन्दा पनि प्रकृतिसँग मिलेर विकास गर्न सकिनेमा जोड दिए। उनले नेपाल सरकारले सहयोग गरे आफूले सोलार पावर प्रयोग गरी हावाबाट पिउने पानी, प्लास्टिकबाट तेल र ठोस फोहरबाट सेरामिक्स बनाउन सकिने परियोजना तत्काल अगाडि बढाउन सक्ने जानकारी दिए।

पर्यटन संस्कृति तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले अहिले स्थिर सरकार रहेकाले इतिहासमै लगानीको अनुकूल वातावरण बनेको दाबी गरे। ‘नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा हेर्ने दृष्टिकोण समेत सकारात्मक भएको र नेपालले आत्मविश्वाससमेत बढाएको छ,’ मन्त्री भट्टराईले भने, ‘हामीमा श्रमशक्तिको रुपमा १५ देखि ६० वर्षबीचको जनसंख्या ५७ प्रतिशत छ, यो सबैभन्दा राम्रो अवसर हो।’ आजको नागरिक दैनिकमा प्रेम पन्थोकीले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्