Logo

गुरु नानकको स्मृतिमा १० हजार दरको सिक्का प्रकाशन हुने



– कृष्णराज गौतम

काठमाडौं, भदौ ३१ । शिख धर्मावलम्बीका प्रवर्तक श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने भएको छ ।

गुरु नानकले धर्मका माध्यमबाट समाजिक विकासमा योगदान गरेका कारण बैंकले सम्मानस्वरुप उनको स्मरणमा सिक्का ल्याउन लागेको छ । १० हजार रुपैयाँ, एक हजार रुपैयाँ र १०० मूल्यका १० हजार सिक्का असोजको दोस्रो सातासम्ममा प्रकाशन गर्न लागिएको बैंकका उपनिर्देशक थानेश्वर आचार्यले जनाए ।

बैंकले विभिन्न कालखण्डमा समाजका विभिन्न तह तथा क्षेत्रबाट मुलुकको विकास र प्रगतिमा भूमिका निर्वाह गरेका ऐतिहासिक व्यक्ति तथा संस्थाका नामबाट सिक्का प्रकाशन गर्दै आएको छ । सन् १४६९ अप्रिल १५ मा लाहोर नजिकै तलबन्डी गाउँमा जन्मेका गुरु नानकले शिख दर्शन र साहित्यको प्रवद्र्धन गरे ।

उनको गाउँ ननकानाका नामले प्रख्यात छ । ननकाना पहिले भारतमा थियो तर विभाजनपछि हाल यो पाकिस्तानमा छ । धार्मिक गतिविधिका माध्यमबाट उनले तत्कालीन समाजमा जातीय विभेदको अन्त्य गरी न्याय, समानता, भ्रातृत्व कायम गरेका थिए।

धर्म रक्षाका लागि मार्गदर्शन गर्नुभएका नानकको दशौँ अवतारका रुपमा गुरु गोविन्द सिंहलाई मानिएको छ । शान्ति, अहिंसा, परोपकार, स्वाभिमानजस्ता विषयवस्तुलाई महत्व दिइएको छ ।

मानव कल्याण र समाजसेवामा समर्पित रहन समग्र मानवलाई शिक्षा दिइएको उक्त धर्मको दार्शनिक पक्ष भनेको सबै धर्मको सार एउटै हो, ईश्वर सर्वव्यापी छन् भन्ने हो । ओमकार परिवारभित्र पर्ने शिख धर्म एकेश्वरवादी धर्म हो । सनातन धर्म संस्कृतिको संरक्षणमा जोड दिएको यस धर्ममा १० गुरुलाई मानिन्छ ।

ती दश गुरुमा नानक देव, सतगुरु अङ्गददेव, अमरदास, रामदास, अर्जुनदेव, हरगोविन्द, हरिराय, हरिकृष्ण, तेगबहादुर र गोविन्द सिंह छन् । यी धर्मगुरुले स्थापित गरेका आदर्श, ज्ञान तथा मान्यतालाई ग्रन्थमा समेटिएको छ ।

त्यसलाई गुरु ग्रन्थ भनिन्छ । हाल धर्मको आधार भनेको गुरु ग्रन्थ हो । शान्ति, अहिंसा र मानव कल्याणका लागि धार्मिक ग्रन्थको अत्यधिक उपयोग गर्न अनुयायीलाई आग्रह गरिएको छ ।

गुरु नानक नेपालमा आएर पशुपतिनाथ, बालाजुलगायतका क्षेत्रमा भ्रमण गरेको विश्वास छ । विश्वका विभिन्न मुलुकमा छरिएका ती धर्मावलम्बी हाल करीब दुई करोड ७० लाखको सङ्ख्यामा छन् । नेपालमा भने करीब सात हजारको सङ्ख्यामा छन् । गुरुको शिक्षामा श्रम र सेवालाई विशेष महत्व दिएका कारण मेहेनतमा विश्वास गर्ने शिख इमान्दार मानिन्छन् ।

अन्तरराष्ट्रिय तहमा फैलिएका शिख अनुयायीले शिक्षा, स्वास्थ्य, यातायात, उद्योगलगायत क्षेत्रका विकासमा लगानी गरी प्राप्त हुने आम्दानीको निश्चित एकाइबाट विद्यालय तथा अस्पताल स्थापना गरेका छन् ।

प्रत्येक कात्तिक पूर्णिमामा गुरु नानकको जन्मोत्सव पर्ने हुँदा नेपालका विभिन्न गुरुद्धारामा गुरुग्रन्थका उपदेशको अनुशरण गरिन्छ । यसो गर्दा दुःख, कष्ट र झन्झटमुक्त हुने बताइएको छ । श्री गुरु नानक सेवा प्रतिष्ठान सोध केन्द्र सिक्का प्रकाशनका लागि क्रियाशिल रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्