Logo

लोप हुँदैँ कोदोबाली



डोटी, १ असोज । जिल्लामा विगत केही वर्षयता कोदोलगायतका पुराना बाली लोप हुन थालेका छन् । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेको स्थानियवासी बताउँछन् । यहाँका गाउँघर तथा पानी नलाग्ने जमिनमा उम्रिने कोदो बालीमा प्रशस्त मात्रामा पोषकतत्व पाइने भए पनि बालीको महत्व नबुझ्दा कोदोबाली विस्तारै लोप हुन थालेको जोरायल गाउँपालिका– ५ का स्थानीय किसान लालबहादुर सार्कीले बताए । उनले भने, “कृषले कोदोको महत्व नबुझ्दा यो बाली लगाउन छोड्दैछन्, कोदोखेती नगरिदा क्रमशः लोपहुँदै जान थालेको छ ।”

कुनै समय सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, बझाङ, बाजुरा तथा डोटीलगायतका पहाडी भेगमा प्रशस्त मात्रामा कोदोखेती गरिन्थ्यो तर अहिले किसानले लगाउन छोडेपछि कोदो पाउनै मुस्किल भएको स्थानीयवासी बताउँछन् । कुनै समय डोटीका किसानको खेतबारीमा प्रशस्त उत्पादन हुने कोदोलागयतका अन्यखेती अहिले क्रमिक रुपमा लोपहुँदै गइरहेको दिपायल पिपल्लाका स्थानीय किसान टिकासिंह कामीले बताए ।

उनले भने, “कोदो स्वास्थ्यवर्धक हो भन्ने जान्दा जान्दै पनि किसानले लगाउनै छोडे, विस्तारैखेती हराउने सम्मको भएको छ ।” तराईका जिल्लाबाट आयतित खाद्यान्नका सामग्रीमा शरीरका लागि चाहिनेजति पोषकतत्व नपाइने भएकाले पछिल्लो समयमा बालबालिकामा कुपोषणसमेत देखिन थालेको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीटेन्डेण्ट डा भुषण मिश्रले बताए । उनले भने, “आफूले उत्पादन गरेको खाद्य बस्तु जति आयातित वस्तुमा पोषण नहुने हुँदा बालबालिकामा बढी कुपोषित हुने गरेका छन् ।” कोदो, जौँ, भटमासलगायतका बालीमा प्रशस्त मात्रामा पोषकतत्व पाइने भए पनि यसको महत्वको बारेमा किसानलाई जानकारी नभएको उनको तर्क छ ।

जिल्लामा कोदोलगायतका बाली संरक्षणका लागि कृषि ज्ञान केन्द्रले पहल चाल्नुपर्ने दिपायलका स्थानीयवासी घनश्याम पाठकले बताए । उनले भने, “समय परिर्वतनसँगै कृषि गर्ने तरिका परिवर्तन भयो, सँगैखेती गरिने बालीनाली पनि परिवर्तन हुँदै गए, पोषणयुक्त बालीको जगेर्ना गर्नु जरुरी भएको छ ।” नयाँ बालीबाट कम मेहनतमा बढी उत्पादन हुने भएकाले पुराना बाली लोप हुँदै जान थालेको शिखर नगरपालिका–१ का स्थानीयवासी प्रेम ऐरले बताए ।
उनले भने, “जिल्लामा कोदोको खासै महत्व छैन्, नयाँ बालीमा उत्पादन पनि बढी र मेहनत पनि कम लाग्ने भएकाले सबैले नयाँबाली लगाउनतिर ध्यान दिँदैछन् ।” कोदोलाई सुदूरपश्चिम प्रदेशमा कुअन्न पनि भन्ने गरिन्छ । स्वास्थ्यकर्मीका अनुसार कोदोमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८ दशमलव ७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा मकैभन्दा ३ दशमलव ७ गुणा, चामलभन्दा २ दशमलव ३ गुणा र गहुँभन्दा १ दशमलव ५ गुणा बढी आइरन पाइन्छ ।

कोदोलाई ढिँडोका रूपमा मात्र नभइ सेलरोटी, बिस्कुट, चाउचाउ र रोटीलगायतका आधुनिक परिकारका रूपमा पनि उपयोग गर्न सकिने डोटीका कृषि प्राविधिक मदन खड्काले बताए । उनले भने, “कोदोका धेरै परिकार हुन्छन, ढिँडो मात्रै हैन अन्य तरिकाले पनि कोदोको परिकार बनाएर खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ ।” उता जिल्ला अस्पताल डोटीका डा गिरिष अवस्थी कोदोलाई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीले खाँदा निकै फाईदा हुने बताए ।

उनले भने, “कोदो बहुउपयोगी खाद्य बस्तु हो, यो जस्ले खाँदा पनि राम्रो हुन्छ ।” कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसूकै जलवायुमा पनि फलाउन सकिन्छ । बालबालिकाका लागि बनाइने लिटोमा कोदोको उपयोग गर्दा उनीहरूको विकासका लागि थप टेवा पुग्ने स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लामा करीब ३० देखि ३५ हेक्टर क्षेत्रफमा कोदोखेती गरिँदै आए पनि अहिले करीब करिब १० देखि १५ हेक्टर क्षेत्रफलमा मात्रै कोदो रोपिने गरेको कृषि ज्ञान केन्द्र सिलगढीले जनाएको छ ।

“स्थानीय जातको बीउ हराउँदै गएकाले यसको संरक्षणका लागि योजना बनाएर अगाडि बढ्नुपर्छ”, कृषि प्राविधिक खड्काले भने, मुख्य खाद्यान्न बालीको तेस्रो स्थान लिएको कोदोको उत्पादन बढाउन तथा खाद्यान्न संकट टार्नका लागि पनि कोदोबाली विकास कार्यक्रम ल्याउनु जरुरी छ ।

कोदोमा आइरन पर्याप्त पाइनेबारेमा जानकारी गराउन नसक्दा र खानाका रूपमा भात नै बढी प्रयोग गरिने भएकाले पनि यसको उत्पादनमा ह्रास आएको उल्लेख गर्दै उहाँले यसको उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि स्थानीय तहले कृषकलाई उन्नत जातको कोदोका बीउ वितरण गर्ने, तालिम तथा औजार उपलब्ध गराउने र नयाँ बीउ उत्पादन गर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । -रासस



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम