Logo

पुलको माग गर्दै १२ दिनदेखि अनशन



काठमाडौं, असोज ३ (नागरिक)– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुलको माग गर्दै शुरु भएको रिले अनशन १२ दिनसम्म पनि जारी रहेको छ ।

पुल निर्माणका लागि सरकारी पक्षबाट कुनै पहल नभएकाले अनशन जारी राख्न बाध्य भएका पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सबै दलका शीर्ष नेताले आश्वासन दिएको भए पनि कसैले पूरा नगरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको उहाँले बताउनुभयो । सीमानाकामा पक्की पुल नभएकै कारण सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक समृद्धिमा बाधा पुगेको जनाइएको छ ।

पुल निर्माणका लागि ठोस पहल नभएसम्म अनशन जारी रहने सङ्घर्ष समितिले जनाएको छ । अनशनमा बैतडीवासीले स्वस्फूर्त रुपमा सहभागिता एवं सहयोग गर्दै आएका छन् ।

दुई दशकदेखि पुल निर्माणका लागि विभिन्न माध्यमबाट दबाब दिए पनि कुनै सुनुवाइ नभएपछि झुलाघाट पक्की पुल निर्माण सङ्घर्ष समितिको अगुवाइमा रिले अनशन बस्न बाध्य हुनुपरेको पुल निर्माण सङ्घर्ष समितिले जनाएको छ ।

विसं २०५९ मा दश हजार बैतडीवासीको हस्ताक्षर सङ्कलन गरेर तत्कालीन सरकार र भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताइएको छ ।

यसका साथै मोटरेबल पुल निर्माणको लागि विसं २०७५ फागुनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो । अनशन जिल्ला प्रशासन कार्यालय अगाडि भदौ २२ गतेदेखि शुरु भएको हो । झुलाघाटमा मोटरेबल पुल नहुँदा हाल दशकौँ पहिले बनेको जीर्ण झोलुङ्गे पुलबाट वारपार गर्नुपरेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्