Logo

संविधान संशोधनबारे सुवास नेम्बाङको नयाँ धारणा, के भने ?



ईलाम ४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने स्पष्ट पारेका छन् । चार वर्षअघि जारी गरिएको संविधानमा संशोधन नहुने भनेर कहीँकतै नराखिएकाले जनताको जनमत लिएर संशोधन गर्न सकिने उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी स्थानीय तह विभाग इलामद्वारा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा बोल्दै नेता नेम्वाङले संविधान संशोधनका लागि जनताको जनमत आवश्यक पर्ने बताएका हुन् । “बहुदलीय प्रतिपस्र्धामा विश्वास राख्ने दलहरुले निर्वाचनमार्फत जनताबाट संशोधनका लागि आवश्यक पर्ने जनमत लिएर जसले पनि संशोधन गर्न सक्छ”, उनले भने, “जनतामाझ संशोधनको मुद्दा लिएर निर्वाचनमा जान र संशोधनका लागि आवश्यक पर्ने मत आएमा संशोधन गर्न कसैले रोक्दैन ।”

संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका नेता नेम्वाङले संविधान कार्यान्वयनका पक्षमा सरकारले तीव्रगतिमा काम गरिरहेको र आवश्यक ऐन कानून बनिसकेकाले अब विकास र समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे । “सरकारले आवश्यक कानून निर्माण गरी काम गर्ने बाटो र आधार तयार गरेको छ”, उनले भने, “नेकपाको सरकारले अब ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यमा तीव्रगतिमा अघि बढ्नेछ ।”



प्रतिक्रिया दिनुहोस्