Logo

३५ गुप्तचर माग्दा ३१ मात्र लिखित उत्तीर्ण



loksewa logo

काठमाडौं, ६ असोज । राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृतका लागि लिएको परीक्षाको परीक्षाफल प्रकाशित गर्दा अपांग र पिछडिएको क्षेत्रबाट कुनै पनि परीक्षार्थी उत्तीर्ण हुन सकेनन् । कुल ३५ जनाको दरबन्दीमा लिखित परीक्षामा मागभन्दा कम ३१ परीक्षार्थी उत्तीर्ण भएका छन् । ४२३ जनाले लिखित परीक्षा दिएका थिए ।

लोक सेवा आयोगले लिएको परीक्षामा अपांग र पिछडिएको क्षेत्रबाट कुनै पनि परीक्षार्थी उत्तीर्ण नहुँदा दलितबाट कोटाभन्दा कम उत्तीर्ण भए । दलितका लागि तीन सिट सुरक्षित राखिएकोमा एकजना मात्र उत्तीर्ण भएका हुन् । राष्ट्रिय अनुसन्धान विभागले आज जारी गरेको सूचना अनुसार आदिवासी जनजातितर्फ चार जना माग भएकोमा एकजना मात्र उत्तीर्ण भए । मधेशीतर्फ तीनजनाको दरबन्दीमा चारजना उत्तीर्ण भए ।

खुलातर्फ २२ जनाको दरबन्दीमा २८ जना उत्तीर्ण भए । महिलातर्फ तीनजना अधिकृतको माग भएकोमा लिखितमा छ जना उत्तीर्ण भएका छन् ।

मागभन्दा कम परीक्षार्थी लिखितमा उत्तीर्ण भएकाले सबै ३१ जना छनोट हुने सम्भावना देखिएको छ । समावेशीतर्फ फाराम भर्नेले खुलातर्फ पनि भरेका कारण यस्तो सम्भावना रहेको हो । समावेशीतर्फ र खुलातर्फ दुवैमा फारम भरेर छनोट भएकाहरु नौ जना छन् । उनीहरुको स्वास्थ्यपरीक्षण भई अन्तवार्ता हुनेछ ।

विगतमा राष्ट्रिय अनुसन्धानमा पहुँच र प्रभावको भरमा छनोट गरिएको भन्दै आवाज उठेपछि लोकसेवा आयोगले लिखित परीक्षा लिन थालेको हो । त्यसले गुप्तचर छनोटमा प्रभाव परेको छ ।



प्रतिक्रिया दिनुहोस्