Logo

चिनियाँ राष्ट्रपतिको विमान पार्किङ चुनौतीपूर्ण



काठमाडौं १७ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ अर्को साता एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदै छन् । विमानस्थलस्थित स्रोतका अनुसार उक्त विशेष विमान एक रात काठमाडौं विमानस्थलमै पार्किङ गरिने छ । यो जहाजको पार्किङ नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल वायुसेवा निगमका अधिकारीहरुका लागि भने निकै चुनौतीपूर्ण बनेको छ ।

चिनियाँ राष्ट्रपतिको जेट विमानलाई विमानस्थलको टर्मिनल भवनतर्फ फर्काएर पश्चिम–पूूर्व राख्न नसकिने भएको छ । अहिले जसरी अन्य विदेशी एयरलाइन्स राखिन्छन्, त्यसरी पार्किङ गर्न नसकिनुको कारण यस जहाजलाई पुसब्याक (धकेल्न) गर्न नसकिने उपकरण नहुनु हो ।

काठमाडौं विमानस्थलमा नेपाल वायुसेवा निगमले विदेशी विमानको ग्राउन्ड ह्यान्डल (भूमिस्थ व्यवस्थापन) गर्छ । चिनियाँ राष्ट्रपतिको जेट विमानलाई ह्यान्डल गर्ने क्षमताको उपकरण निगमसँग छैन ।

राष्ट्रपति चढेर आउने विमान डबल डेकर (दुई तले) र चारवटा इन्जिनयुक्त हो । ‘निगमसँग भएको उपकरणले २ सय ५० टनसम्मको जेट विमान पुसब्याक गर्न सक्छ तर राष्ट्रपति सी आउने जहाजको तौल ३ सय टनभन्दा बढी छ,’ निगमका प्राविधिकले भने ।

विमानस्थलका अधिकारीहरुले उक्त जहाजलाई उत्तरतर्फ फर्काएर राख्ने योजना चिनियाँ अधिकारीहरुलाई बताइसकेका छन् । ७६ मिटर लामो जहाजलाई उत्तरतर्फ फर्काएर पार्किङ गरिए यसले तीनवटा जहाजको पार्किङ स्थान ओगट्ने छ ।

राष्ट्रपतिको सीको भ्रमणमा यस्तै प्रकारको अर्को जहाज पनि साथै आउँदै छ । उक्त विमानलाई पनि यस्तै गरी राखिँदा थप तीनवटा जहाजको स्थान ओगट्ने स्रोतले बतायो । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्